काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देही सिद्धार्थनगर–६ स्थित होटेल पौवामा दिउँसो २ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको १७ प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ। बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी बढ्ने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक प्रक्रिया अगाडि बढ्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ। 

सभामा गत आर्थिक वर्षको आर्थिक, वार्षिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित हुनेछन्।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदो पुस ४ गतेबाट पुस १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १ गते (पुस २ गते शुक्रबार र पुस ३ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।