-मनिष सोती

 

काठमाण्डौ । बीमा कम्पनीहरुमा ६ सय बढी कर्मचारीहरु पलायन भएका छन् ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीका कर्मचारीको संख्या ५.५३ प्रतिशतले घट्न पुगेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८–७९ को अन्त्यसम्म बीमा कम्पनीका कर्मचारीको संख्या ११हजार ८६१ जना रहेकोमा गत आर्थिक वर्ष २०७९–८० मा साढे ६ सय जना घटेर ११ हजार २०५ मा सीमित हुन पुगेको छ । 

नेपाल बीमा प्राधिकरणले गत वर्ष बीमा कम्पनीहरुमा ‘फोर्स मर्जर’को नीति ल्याउँदा यसको प्रत्यक्ष प्रभाव कर्मचारी र शाखा कार्यालयको संख्यामा देखिन पुगेको हो । 

यता मर्जरकै कारणले गर्दा साबिकका कम्पनीको शाखाहरु समेत गाँभिदा शाखा कार्यालयको संख्या आधा घट्न पुगेको छ ।
 

प्राधिकरणकाअनुसार अघिल्लो वर्षको तुलनामा बीमा कम्पनीहरुको शाखा कार्यालय १६.७९ प्रतिशतले घट्न पुगेको छ । अघिल्लो वर्ष ३ हजार ३६६ वटा रहेको बीमा कम्पनीहरुको शाखा कार्यालय घटेर २ हजार ८०१ मा सीमित हुन पुगेको छ । 
 

बीमा प्राधिकरणले गत वर्ष जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । न्यूनतम चुक्तापुँजी पुर्याउन अधिकांश बीमा कम्पनीले मर्जरको बाटो रोजेका थिए । मर्जरकै कारण १९ जीवन बीमा कम्पनी घटेर १४ वटा कम्पनी कायम भएका छन् । 
 

१९ जीवन बीमा कम्पनी मध्ये ९ जीवन बीमा कम्पनीले मर्जरको बाटो रोजेका थिए । जसमा हिमालयन लाइफ इन्स्योरेन्स (साविक युनियन, प्राइम र गुराँस), सूर्यज्योति लाइफ इन्स्योरेन्स (साविकका सूर्या लाइफ र ज्योति लाइफ), सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स (साविकका सानिमा र रिलायन्स लाइफ) र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स (साविकका प्रभु लाइफ र महालक्ष्मी लाइफ) मर्जरमा गएका थिए ।
 

त्यस्तै, २० निर्जीवन बीमा कम्पनी मध्ये १२ कम्पनीले मर्जरको बाटो रोजका थिए । जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (साविक सगरमाथा र लुम्बिनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स (साविक सिद्धार्थ र प्रिमियर), सानिमा जिआईसी इन्स्योरेन्स (साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स), हिमालयन एभरेष्ट इन्स्योरेन्स (साविक हिमालयन र एभरेष्ट), युनाइटेड अजोड इन्स्योरेन्स (साविक अजोड र युनाइटेड), आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स (साविक आईएमई जनरल र प्रुडेन्सियल) इन्स्योरेन्स मर्जरमा गएका थिए । 
 

चुक्तापुँजी पुर्याउन करिब आधा जीवन बीमा कम्पनीले मर्जरकै बाटो रोजेकै कारण शाखा कार्यालय र कर्मचारीको संख्या घट्न पुगेको प्राधिकरणले जनाएको छ । 
 

‘जीवन बीमा कम्पनीहरु एकआपसमा गाभिँदा एकैठाउँमा भएका साविकका शाखाहरु समेत समायोजन हुनुपर्छ, यसले गर्दा शाखाको संख्या घट्न पुगेको हो ।’ प्राधिकरणका एक अधिकारीले भने । 
 

त्यस्तै, प्राधिकरणकाअनुसार जीवन बीमा कम्पनीहरु एकआपसमा मर्ज हुँदा ‘कर्मचारी स्वेच्छिक अवकाश योजना’ल्याउने भएका कारण आधाभन्दा धेरैले उक्त योजनाअन्तर्गत अवकास लिएकाले यस्तो संख्या घट्न पुगेको हो।

जीवन र निर्जीवन बीमा कम्पनीमा कति कर्मचारी ?
प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीमा मात्रै ५ हजार ६८२ जना कर्मचारी रहेका छन्, भने निर्जीवन बीमा कम्पनीमा ५ हजार ५२३ जना कर्मचारी रहेका छन् । 

जीवन बीमातर्फ गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्समा ७९० कर्मचारी रहेका छन् । साविक तीन कम्पनी आपसमा मर्ज भई बनेको हिमालयन लाइफले कर्मचारी स्वेच्छिक अवकाश योजना ल्याउँदा समेत सबैभन्दा धेरै कर्मचारीलाई रोजगार दिन सफल भएको छ । 

त्यस्तै, दोस्रोमा सूर्यज्योति लाइफमा ६१८, नेपाल लाइफमा ६ सय, नेशनल लाइफमा ४९१, सानिमा रिलायन्समा ४८०, एसियन लाइफमा ४३४, प्रभु महालक्ष्मीमा ४२५, सन–नेपाल लाइफमा ३८०, सिटिजन लाइफमा ३६२, रिलायबल नेपाल लाइफमा ३२४, आईएमई लाइफमा २६६, एलआइसी नेपालमा २४४, मेटलाइफमा १७१ र राष्ट्रिय बीमा संस्थानमा ९७ जनामात्रै कर्मचारी रहेका छन् ।  

शाखा कार्यालय कुनको कति ?
मर्जरका कारण बीमा कम्पनीहरुको शाखा कार्यालय संख्या समेत ह्वात्तै घट्न पुगेको छ । विभिन्न प्रदेशमा रहेका मर्जरमा गएका साविक कम्पनीका शाखा कार्यालयहरु समेत समायोजन हुँदा शाखा संख्या घट्न पुगेको हो । 

 

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको शाखा विस्तार गरी सबै ठाउँमा बीमाको पहुँच पुर्याउने नीति ल्याइरहँदा कम्पनीहरुको मर्जरले भने झनै बीमाको पहुँच खस्किने देखिएको छ । मर्ज हुनुभन्दा अघि ३ हजारभन्दा बढी रहेको बीमा कम्पनीको शाखा घटेर २८ सयको हाराहारीमा पुगेको छ ।
 

जसमा जीवन बीमा कम्पनीहरुको मात्रै शाखा कार्यालय संख्या १ हजार ७८९ रहेको छ, भने निर्जीवन बीमा कम्पनीहरुको शाखा १ हजार १२ वटा रहेका छन् । 
 

जीवन बीमातर्फ गत आर्थिक वर्षको अन्त्यसम्म सबैभन्दा धेरै हिमालयन लाइफको शाखा संख्या २१८ वटा रहेको छ । 
 

त्यस्तै, नेपाल लाइफको १९६, सूर्यज्योतिको १८२, सानिमा रिलायन्सको १७१, एशियनको १४५, आइएमई लाइफको १४४, सन–नेपालको १४१, सिटिजन लाइफको १४१, नेशनल लाइफको ११६, प्रभु–महालक्ष्मीको ११५, रिलायबल नेपालको ८३, एलआइसी नेपालको ७८, मेट लाइफको ३५ र राष्ट्रिय बीमा संस्थानको २४ वटा शाखा कार्यालय रहेको छ ।

भूलसुधार 
*यसअघिको समाचारमा भूलवश केही तथ्याङ्क र त्यसकै आधारमा राखिएको समाचारको हेडलाइन नै गलत हुन गएकोमा हामी क्षमाप्रार्थी छौं । 
-सम्पादक