काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बीमा योजना (प्रडक्ट) ल्याउने भएको छ। 

हाल प्रभु लाइफ र महालक्ष्मी लाइफ असारभित्र मर्ज हुने गरी तीव्रगतिमा तयारी भइरहेको छ। एकीकृत कारोबारपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बजारमा बिक्रीका लागि ल्याउने बीमा योजनाहरु छनोट गरेको हो। 

दुवै कम्पनीका विज्ञ कर्मचारीहरुको अध्ययन तथा विश्लेषणपछि साउन १ गतेबाट बिक्रीवितरणका लागि १५ टा बीमा योजना छनौट भएको छ। नेपाल बीमा प्राधिकरणबाट एकीकृत कारोबारपछि प्रचलनमा ल्याउन ती योजनाहरु स्वीकृतिसमेत प्राप्त भइसकेको छ।

स्वीकृत बीमा योजनाहरुमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारिक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीवृद्धि बीमा, गज्जबको लगानी फिर्ता बीमा, डबल धमाका बीमा, सबैको जीवन बीमा, सर्वश्रेष्ठ आजीवन बीमा, सुनौलो किरण बीमा, वैभव जीवन बीमा, जीवन उन्नति बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजना छन्। ‘नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधालाई समेत विचार गरी यी १५ वटा योजना प्रचलनमा ल्याउन लागिएको हो’, दुवै कम्पनीद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा उल्लेख छ।