काठमाण्डौ । आपसमा मर्जरको प्रक्रियामा रहेका कामना विकास बैंक र सेवा विकास बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको प्रगति विवरण सार्वजनिक गरेका छन् । 

यी २ बैंकले २०७३ मंसिर १० गते मर्जरमा जाने सम्झौता गरेका थिए । 
बिहीबार प्रकाशित बित्तीय विवरण अनुसार कामना विकास बैंकले कमालको प्रगति हासिल गरेको छ भने उसको तुलनामा सेवा विकास बैंकको प्रगति सामान्य छ । 

कामना विकास बैंकले दोश्रो त्रैमासमा खूद नाफातर्फ १३०.३९ प्रतिशतको प्रगति हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ४ करोड ३६ लाख खूद नाफा आर्जन गरेको बैंकले यो वर्ष सोही अवधिमा १० करोड ५ लाख नाफा कमाएको हो । 

बैंकले व्यवसाय बिस्तारमा एग्रेसिभ मुुभ लिएका कारण खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति गरेको छ । जसअनुसार अघिल्लो वर्षको दोश्रो त्रैमासमा ८ करोड ३१ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी वृद्धि गरी २० करोड ७६ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा बैंकले ६ अर्ब ८९ करोड निक्षेप संकलन गरी ६ अर्ब १८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३ अर्ब ४० करोड निक्षेप संकलन गरी २ अर्ब ७४ करोड कर्जा परिचालन गरेको थियो । 

कामना विकास बैंकको चुक्तापूँजी ६६ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३८ करोड ४५ लाख रुपैयाँ रहेको छ । 

तर यो बैंकको निस्क्रिय कर्जाको अनुपात भने बढेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा ०.४२ प्रतिशत रहेको निस्क्रिय कर्जा यो वर्ष सोही अवधिमा बढेर १.४८ प्रतिशत पुुगेको हो । यो बैंकको बार्षिकीकृत प्रति सेयर आम्दानी ३०.४० रुपैयाँ, प्रति सेयर नेटवर्थ १५८.१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.३६ गुणा कायम भएको छ । 

उता, सेवा विकास बैंकको नाफा भने ८९.१८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष दोश्रो त्रैमासमा ४ करोड ८ लाखमा सीमित खूद नाफा बढेर ७ करोड ७२ लाख पुुगेको हो । ८ करोड ९६ लाखबाट वृद्धि भई खूद ब्याज आम्दानी १५ करोड ५७ लाख रुपैयाँको उचाईमा पुुगेको छ । यो अवधिमा बैंकले ५ अर्ब ४१ करोड निक्षेप संकलन गरी ४ अर्ब ६५ करोड कर्जा परिचालन गरेको छ । 
अघिल्लो वर्ष ४ अर्ब ३६ करोड निक्षेप संकलन गरी ३ अर्ब ६२ करोड कर्जा परिचालन गरेको थियो । 

सेवा विकास बैंकको चुक्तापूँजी ५० करोड ६४ लाख र जगेडा कोषमा १८ करोड ५४ लाख रुपैयाँ रहेको छ । 

यो बैंकको निस्क्रिय कर्जा अनुपात पनि बढेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ०.१४ प्रतिशत रहेको निस्क्रिय कर्जा बढेर ०.९६ प्रतिशत पुुगेको हो । बैंकको बार्षिकीकृत प्रति सेयर आम्दानी ३०.५२ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३६.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.४२ गुणा कायम भएको छ ।