काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमाससम्ममा ३ अर्ब १७ करोड ८६ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि छुट्याएका छन् ।

जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १४वटा कम्पनीले असोज मसान्तसम्म अभिकर्ताका लागि सवा ३ अर्ब रुपैयाँ कमिसन छुट्याएका हुन् ।

गत आवको यसै अवधिसम्मको तुलनामा अभिकर्ता कमिसन १.६१ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ३ अर्ब १२ करोड रुपैयाँ अभिकर्ताका लागि कमिसन छुट्याएका थिए । 

सो अवधिसम्म सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुका लागि ८१ करोड ८८ लाख रुपैयाँ  कमिसन छुट्याएको छ । नेपाल लाइफ इन्स्योरेन्स बिजेसको आधारमा सबैभन्दा ठूलो जीवन बीमा कम्पनी हो ।

कम्पनीमा कर्मचारी र अभिकर्ता संख्या धेरै छन् । यसले गर्दा पनि अभिकर्ता कमिसन बढी देखिनु स्वभाविक नै हो । त्यस्तै, नेशनल लाइफले पनि ३८ करोड ९६ लाख र हिमालयन लाइफले ३६ करोड १ लाख रुपैयाँ अभिकर्ता कमिसन छुट्याएको छ । 
बृद्धिदरमा सानिमा रिलायन्स, सूर्यज्योति र प्रभु महालक्ष्मी लाइफ अब्बल 
मर्जरमा गएका तीन जीवन बीमा कम्पनी सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अभिकर्ता कमिसन गत आथिक वर्षको तुलनामा उल्लेख्य बृद्धि भएको विवरणमा उल्लेख छ । 

सबैभन्दा बढी सानिमा रिलायन्स लाइफले आफ्ना अभिकर्ताहरुलाई मख्ख बनाएको छ । गत आवको यसै अवधिसम्म अभिकर्तालाई ७ करोड २० लाख रुपैयाँ मात्रै कमिसन बाँडेको कम्पनीले यस अवधिसम्म १५ करोड १२ लाख रुपैयाँ कमिसन छुट्याएको छ । कम्पनीको अभिकर्ता कमिसन १०९ प्रतिशतले बृद्धि भएको छ । 
त्यस्तै, मर्जरमा  गएको अर्को कम्पनी सूर्यज्योति लाइफले पनि आफ्ना अभिकर्ताहरुलाई  मख्ख बनाएको छ । कम्पनीले गत आवको तुलनामा अभिकर्ता कमिसन ८०.०८ प्रतिशतले बढाएको छ ।

गत आवको यस अवधिसम्म ११ करोड ८१ लाख रुपैयाँ अभिकर्तालाई कमिसन छुट्याएको सूर्यज्योतिले यस अवधिसम्म २१ करोड २७ लाख रुपैयाँ कमिसन छुट्याएको छ । 

त्यस्तै, अर्को मर्जरमा गएको कम्पनी प्रभु महालक्ष्मी लाइफले पनि यस अवधिसम्म अभिकर्ता कमिसन उल्लेख्य बृद्धि गर्न सफल भएको छ । गत आवको यस अवधिसम्म ७ करोड ८६ लाख रुपैयाँ मात्रै अभिकर्ता कमिसन छुट्याएको यस कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा ७१.८५ प्रतिशतले बृद्धि गरी १३ करोड ५१ लाख रुपैयाँ छुट्याएको छ । 
मर्जरमा गएका यी तीन जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीको अभिकर्ता कमिसन घटेको तथ्यांकले देखाएको छ । 

 

स्रोत : कम्पनीको त्रैमासिक वित्तीय विवरण