काठमाण्डौ । मल्टीपर्पस फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ६५ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफामा उल्लेख्य सुधार भएको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीलाई ६२ लाख ९७ हजार रुपैयाँ सञ्चालन मुनाफा भएको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५७ लाख ८३ हजार सञ्चालन नाफा गरेको थियो। 

पहिलो त्रैमासमा कम्पनीले १ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ४९ लाख ६ हजार रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि करिब ३०० प्रतिशतले बढेको छ। 

पहिलो त्रैमासमा कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.२२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ०.२२ प्रतिशत थियो। खराब कर्जा बढ्दा कम्पनीले ४५ लाख २२ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्याएको छ। 

चुक्तापुँजी ५९ करोड ५९ लाख रुपैयाँ कम्पनीको रिजर्भको आकार ३.१६ प्रतिशतले घटेर ६ करोड २३ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा ६ करोड ४३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५२ करोड निक्षेप संकलन गरी १ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

कम्पनीको वार्षिकीकृत ईपीएस बढेर ४.४२ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ३७ पैसामात्रै थियो। पीई रेसियो ६३.४९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११०.९५ रुपैयाँ रहेको छ।