काठमाण्डौ ।अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी एक्स(पहिले ट्वीटर) को मूल्यांकन  १९ अर्ब डलरमा झरेको छ ।

गत वर्ष मस्कले ४४ अर्ब डलरमा खरिद गरेको कम्पनीको सेयरमूल्य हाल १९ अर्ब डलरमा झरिसकेको छ ।

अझ यहि बेला विज्ञापन कटौतीको खबर सार्वजनिक भएपछि कम्पनीको भविष्य अनिश्चित यात्रामा रहेको भन्दै प्रयोगकर्ताहरुले समेत आलोचना गर्न शुरु गरेका छन् ।

सामाजिक सञ्जाल प्लाटफर्म एक्समा जातीय तथा धार्मिक घृणा फैलाउने अभिव्यक्तिहरूलाई प्रश्रय दिइएको भन्दै ठूला बहुराष्ट्रिय विभिन्न कम्पनीले विज्ञापन सम्झौता रद्द गर्न थालेका छन् ।

वार्नर ब्रदर्स,एप्पल, डिज्ने, कमकास्ट, पारामाउन्ट ग्लोबल, लायन्सगेट इन्टरनेटशनलजस्ता प्रख्यात ब्रान्ड एवं कम्पनीले एक्समा आफ्ना विज्ञापन रद्द गरेको घोषणा गरेका छन् ।

विज्ञापनबापतको आम्दानी बढाउन निरन्तर प्रयास गरिरहेको एक्सका लागि यो ठूलो झट्का हो ।उता मस्कले भने मिडिया म्याटर्सले आफ्नो कम्पनीको अभिव्यक्ति स्वतन्त्रतामा प्रहार गरेको भन्दै त्यसविरुद्ध मुद्दा दायर गरेको बताएका छन् ।

त्यसो त मस्कले चाहिं न्यूयोर्क टाइम्सको डिलबुक शिखर सम्मेलनमा भनेका छन्,‘म उनीहरूले विज्ञापन गरून् भन्ने चाहन्नँ।’

ठूला ब्रान्डहरूको मन जितेर विज्ञापनबाटआय बढाएर मुख्य स्रोत बनाउन पहल गरिरहेको एक्सका लागि हालको समय कठिन देखिएको छ ।पछिल्लो समय जातीय र धार्मिक घृणा फैलाउने (एन्टिसेमेटिक) र जातिवादी (रेसिस्ट) कन्टेन्टमा कुनै रोकतोक नलाएको र मस्क आफैंले त्यस्ता सामग्री पोस्ट गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाउँदै आएका छन् ।

यस्तो खालको सामुहिक प्रतिबन्ध र बहिस्कारले एक्सको कारोबार र नाफामा ठूलो धक्का लाग्ने आकलन गरिएको छ । यसअघि मस्क र एक्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिन्डा यक्कारिनोले आगामी वर्षको अनुमानित नाफाबारे घोषणा गरेका थिए । -एजेन्सी