काठमाण्डौ । कुमारी बैंकले अक्वायर गर्न लागेको महाकाली विकास बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ ७७.२७ प्रतिशतले वृद्धि हासिल गरेको छ । 

आइतबार प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा ६९ लाख ४६ हजार खूद नाफा कमाएको बैंकले यो वर्ष १ करोड २३ लाख नाफा आर्जन गरेको हो । 

व्यवसाय बिस्तार गरेका कारण यो बैंकको खूद ब्याज आम्दानी पनि १ करोड ९४ लाखबाट वृद्धि भई ३ करोड १ लाखको उचाईमा पुुगेको छ । दोश्रो त्रैमाससम्म यो बैंकको चुक्तापूँजी १४ करोड ८८ लाख रहेको छ भने जगेडा कोषमा ४ करोड ७३ लाख रुपैयाँ रहेको छ । 

दोश्रो त्रैमाससम्म यो बैंकले १ अर्ब २७ करोड निक्षेप संकलन गरी ९८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यो बैंकले ७५ करोड ३३ लाख निक्षेप संकलन गरी ५८ करोड १७ लाख कर्जा परिचालन गरेको थियो । 

महाकाली बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी ८ रुपैयाँ २७ पैसा कायम भएको छ । कुमारी बैंकसँगको अक्वायर सम्झौता कार्यान्वयनको प्रक्रिया जारी रहेका कारण यो कम्पनीको सेयर कारोबार अहिले निलम्बित छ ।