काठमाण्डौ । कैलाश विकास बैंकलाई देशकै टप विकास बैंक बनाएर सफल २ कार्यकाल पूरा गरी विदा भएका बैंकर कृष्णराज लामिछाने महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)को रुपमा नियुक्त भएका छन् । 

बैंक संचालक समितिको शनिवार बसेको बैठकले बैंकर लामिछानेलाई चारवर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो । 

महालक्ष्मी विकास बैंकका तत्कालीन सीइओ रमेशकुमार भट्टराईले कात्तिक १ देखि लागूू हुने गरी राजीनामा दिएपछि सीइओको पद रिक्त थियो । 

नेपाल बैंकको अधिकृत स्तरको जागिरबाट सुरु भएको लामिछानेसँग ३० वर्ष लामो बैकिङ अनुुभव छ । नेपाल बैंकको जागिर छाडी अन्नपूर्ण फाइनान्सको सीइओ भएर गएका उनले सो कम्पनीलाई २ वर्षमै अपग्रेड गरी कैलाश विकास बैंक बनाएका थिए । त्यसपछि निरन्तर प्रगति पथमा डोहोर्याउँदै बैंकलाई विकास बैंकमध्येकै टप बनाए । लामिछानेले कैलाश विकास बैंक छाडेलगत्तै सो बैंकको बित्तीय अवस्था कमजोर बनेको चालुु आर्थिक वर्षको पहिलो त्रैमासको प्रगतिविवरणले देखाइसकेको छ । यसकारण समेत कुनै पनि बैंक तथा बित्तीय संस्थाको व्यवस्थापन नेतृत्व गर्ने व्यक्तिको क्षमतामा सो संस्थाको प्रगति कसरी निर्भर हुन्छ भन्ने पनि देखिइसकेको छ । 

महालक्ष्मी बैंक स्रोतका अनुसार लामिछानेले आइतबारदेखि नै कार्यभार सम्हालेका छन् । उनी व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक हुन् । 

डेभलपमेन्ट बैंकर्स एशोसिएसनमा २ कार्यकाल अध्यक्षको रुपमा बिताएका उनको बाफियालाई परिस्कृत बनाउने कार्यमा निकै महत्वपूर्ण भूमिका छ । विकास बैंकलाई वाणिज्य बैंक सोसरहको कतिपय अधिकार प्रदान गर्न उनले राष्ट्रबैंक लगायतका निकायमा खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बैंकरहरु बताउँछन् ।

अब महालक्ष्मी ‘टप विकास बैंक’
कैलाश विकास बैंकलाई टप विकास बैंक बनाएका लामिछानेलाई हामीले सोधेका थियौं–‘तपाईले नेतृत्व गरेपछि अब महालक्ष्मी विकास बैंकको अवस्थामा के सुधार हुन्छ ?’ नवनियुक्त सीइओ लामिछानेले महालक्ष्मी विकास बैंकलाई अब देशकै ‘टप विकास बैंक’ बनाइने घोषणा गरेका छन् । ‘केही सूचकमा अहिले पनि महालक्ष्मी विकास बैंक अरुभन्दा अगाडि छ ।’ उनले बिजशालासँग भने–‘नाफा लगायत बाँकी सबै सूचकहरुमा अब महालक्ष्मी विकास बैंक देशकै टप विकास बैंक हुनेछ ।’ उनले आगामी असार मसान्तसम्म महालक्ष्मी विकास बैंकलाई देशकै ‘टप विकास बैंक’ बनाइने समेत उद्घोष गरेका छन् ।