काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गका लागि चिप प्रणालीमा आधारित इएमभी महालक्ष्मी भिजा डेबिट कार्ड सार्वजनिक गरेको छ । 

कार्ड सम्बन्धी कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित भिजा डेबिट कार्ड सञ्चालनमा ल्याइएको हो । 

यसअघि बैंकले आफ्ना ग्राहकका लागि पारम्परिक म्याग्नेटिक स्ट्राइप प्रविधिका भिजा डेबिट कार्ड उपलब्ध गराउँदै आएको थियो । चिपमा आधारित कार्ड विश्वस्तरीय रहेको र यस कार्डको प्रयोग गर्नाले सम्भावित जोखिमहरु धेरै न्यून गर्न सकिने कुरालाई मध्यनजर गर्दै यस बैंकले चिप प्रणालीमा आधारित महालक्ष्मी भिजा डेबिट कार्ड सञ्चालनमा ल्याइएको प्रष्ट्याएको हो ।

बैकले आगामी दिनहरुमा आफ्ना ग्राहकहरुसँग रहेका सम्पूर्ण म्याग्नेटिक स्ट्राइप प्रविधिका भिजा डेबिट कार्डलाई चिप प्रणालीमा आधारित इएमभी महालक्ष्मी भिजा डेबिट कार्डले प्रतिस्थापना गर्ने योजना बनाएको छ । यसका अतिरिक्त यस बैंकले निकट भविष्यमा संसारको जुनसुकै ठाउँबाट सुरक्षित बैकिङ्ग कारोबार गर्न सकिने चिप प्रणालीमा नै आधारित डलर डेबिट कार्ड सञ्चालनमा ल्याउने खुलासा गरेको छ । यस्ता उपकरणहरुमार्फत प्रदान गरिने बैकिङ्ग सेवा–सुविधा अझ प्रभावकारी हुने व्यहोरा बैंकले जनाएको छ ।