काठमाण्डौ । पछिल्लो समय निक्षेपको ब्याजदर बढेर उच्च विन्दूमा पुगिसकेको छ । उच्च विन्दूमा पुगेको निक्षेपको ब्याजदर माघदेखि क्रमशः घटिरहेको छ । अर्थतन्त्रमा सुधार हुँदै जाँदा, आर्थिक गतिविधि बढ्दै जाँदा र बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा अहिले कायम निक्षेपको उच्च ब्याजदर आउँदा दिनमा अझै घट्ने निश्चित छ । तर, के तपाई आजकै मितिमा वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा दिइरहेको ब्याजदर आगामी १० वर्षसम्म पनि निरन्तर आइरहोस् भन्ने चाहनुहुन्छ ? कुनै यस्तो लगानी उपकरण, जसमा १० वर्षसम्म ढुक्कले वार्षिक ११ प्रतिशतको दरले रिटर्न आइरहोस् भन्ने चाहनुहुन्छ ? वा, त्यस्तो विकल्पको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने तपाईका लागि महालक्ष्मी विकास बैंकको ऋणपत्र राम्रो विकल्प हुनसक्छ । 

महालक्ष्मी विकास बैंकले १० वर्षे अवधिको ऋणपत्र आजबाट निश्कासन गरेको छ । यो ऋणपत्र खरीद गर्नेले १० वर्षसम्म ढुक्कले वार्षिक ११ प्रतिशतको दरले रिटर्न पाउँछ । 

बैंकले '११% महालक्ष्मी डिवेञ्चर-२०८९' का इकाईहरु सर्वसाधारणका लागि आजदेखि बिक्री खुल्ला गरेको हो । 

रु. १००० अंकित मूल्य भएका यो ऋणपत्रका ४ लाख कित्ता इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको हो । कुल १ अर्बको आकारको यो ऋणपत्रका बाँकी ६ लाख कित्ता चाहिँ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । 

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्ताकै लागि पनि आवेदन दिन सक्नेछन् । 

व्यक्तिगत तवरको हकमा भने दरखास्त दिन सकिने न्यूनतम ऋणपत्र २५ कित्ता र अधिकतमको हकमा भने कुनै हद लाग्नेछैन । 

ऋणपत्रका इकाईहरु खरीदका लागि छिटोमा बैशाख ४ गते र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएको छ । 

ऋणपत्रमा लगानी गर्न इच्छुकहरुले महालक्ष्मी विकास बैंकको दरबारमार्ग(काठमाण्डौ)स्थित कार्यालय, एनआइसी एशिया क्यापिटल लिमीटेडको बबरमहलस्थित कार्यालय, तथा नेपाल धितोपत्र बोर्डको वेबसाइटबाट विवरणपत्र प्राप्त गर्न सक्नेछन् । 

दरखास्त फारम प्राप्त गर्ने र बुझाउने स्थान पनि तोकिएका छन् । जसअनुसार नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक, तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु, सिडिएस एण्ड क्लियरिङ लिमीटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सीआस्वा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । 

व्यक्तिगत तवरको हकमा महालक्ष्मी विकास बैंकको दरबारमार्गस्थित मुख्य तथा अन्य सबै शाखा कार्यालयहरु, एनआइसी एशिया क्यापिटल लिमीटेडको बबरमहलस्थित मुख्य कार्यालयबाट दरखास्त दिन सक्नेछन् ।