काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि चिप प्रणालीमा आधारित इएमभी महालक्ष्मी भिजा डेबिट कार्ड सार्वजनिक गरेको छ । 

कार्ड सम्बन्धी कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनिकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित भिजा डेबिट कार्ड सञ्चालनमा ल्याइएको बैंकले जनाएको हो।

यसअघि बैंकले आफ्ना ग्राहकहरुका लागि पारम्परिक म्याग्नेटिक स्ट्राइप प्रविधिका भिजा डेबिट कार्ड उपलब्ध गराउँदै आएको थियो । चिपमा आधारित कार्ड विश्वस्तरीय रहेको र यस कार्डको प्रयोग गर्नाले सम्भावित जोखिमहरु धेरै न्यून गर्न सकिने कुरालाई मध्यनजर गर्दै चिप प्रणालीमा आधारित महालक्ष्मी भिजा डेबिट कार्ड सञ्चालनमा ल्याएको बैंकको भनाई छ । 

बैकले आगामी दिनहरुमा आफ्ना ग्राहकहरुसँगका सबै पारम्परिक प्रविधिका डेबिट कार्डलाई चिप प्रणालीमा आधारित इएमभी महालक्ष्मी भिजा डेबिट कार्डले प्रतिस्थापन गर्ने योजना बताएको छ । 

यसका अतिरिक्त यस बैंकले निकट भविष्यमा संसारको जुनसुकै ठाउँबाट सुरक्षित बैकिङ्ग कारोबार गर्न सकिने चिप प्रणालीमा नै आधारित डलर डेबिट कार्ड सञ्चालनमा ल्याउने समेत खुलासा गरेको छ ।