काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेड जेठ ७ गते मंगलबारदेखि २५ औं वर्षमा प्रवेश गरेको छ। 

यस अवसरमा बैंकले आफ्ना ९३ वटै शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ । 

काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयले काठमाण्डौ उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा दरबारमार्गबाट भद्रकाली, न्यूरोड, असन र पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको थियो। 

बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेले काठमाण्डौ महानगरीय प्रहरी वृत, दरबारमार्गका प्रमुख शिव घिमिरेलाई प्रभातफेरीमा सुरक्षा व्यवस्थापन गरिदिनु भएकोमा विशेष धन्यवाद दिँदै उनी लगायत प्रतिनिधि प्रहरीहरुलाई फ्लोरेसेन्ट ज्याकेट वितरण गरेका थिए । 

साथै बैंकको प्रधानकार्यलयमा रजतजयन्तीको सुखद उपलक्ष्यमा शताब्दीपुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरिएको थियो । 

सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय तथा सञ्चालक सदस्यहरु रुपेन्द्र पौडेलकासाथै राजेश रौनियारको पनि उपस्थिति रहेको थियो । 

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले सो समारोहमा संस्कृति, पुरातत्व र लोक संस्कृतिको क्षेत्रमा युगान्तसम्म  सत्यमोहन जोशी गरेका अनुकरणीय योगदानको कदर गर्दैै उनलाई सम्मानपत्र तथा रु १ लाखको चेक हस्तान्तरण गरी अभिनन्दन गरेका थिए ।