काठमाण्डौ । देशको कान्छो जीवन बिमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा शुल्क आर्जनतर्फ २४५.४५ प्रतिशतको छलाङ मारेको छ । 

आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म यो कम्पनीको खूद बिमा शुल्क आर्जन ८६ करोड ८३ लाखको उचाईमा पुगेको हो । अघिल्लो वर्ष यही अवधिमा २५ करोड १३ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीले ९४ करोड ८० लाख आम्दानी गरी  ३६ करोड ६१ लाख खर्च गरेको छ । 

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय १२ करोड २६ लाखबाट घटेर ६ करोड ७५ लाखमा सीमित बन्न पुगेको छ भने बिमालेखको धितोमा कर्जाबाट हुने आय ९५ लाख ६० हजार रहेको छ । 

समीक्षा अवधिमा कम्पनीले २८ लाख २४ हजार दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष १ लाख ९० हजार बराबरको दाबीभुक्तानी गरेको थियो । 

कम्पनीले समीक्षा अवधिमा २७ करोड २५ लाख व्यवस्थापन खर्च गरेको छ । अघिल्लो वर्ष यस्तो खर्च ८ करोड ७७ लाखमा सीमित थियो । नयाँ कम्पनी भएका कारण सेवा बिस्तार गर्दा समेत कम्पनीको व्यवस्थापन खर्च ह्वात्तै बढेको हो । तर, आम्दानीतर्फको प्रगतिको तुलनामा व्यय तथा त्यस अन्तर्गतको व्यवस्थापन खर्च समेत सन्तुलित नै देखिन्छ । 

समीक्षा अवधिमा कम्पनीको खूद नाफा ८ करोड रहेको छ । अघिल्लो वर्ष यही अवधिमा ८७ लाख रुपैयाँ रहेको थियो । 

यो अवधिमा कम्पनीले जीवन बिमा कोषको आकार बढाएर ८१ करोड ६ लाखको उचाई चुमाएको छ । अघिल्लो वर्ष यस्तो कोषको आकार २५ करोड १९ लाख रुपैयाँ रहेको थियो । 

जगेडा तथा कोषको आकार ८ करोड २५ लाख र महाविपत्ति जगेडाको आकार ९१ लाख ७४ हजार पुगेको छ । 

कम्पनीले  अघिल्लो वर्ष २७७७ मा सीमित बिमालेखको संख्या बढाएर १२ हजार ४३६ पुर्याएको छ । यसले समेत यो कम्पनी व्यवसाय बिस्तारमा आक्रामक बनिरहेको देखाउँछ ।