काठमाण्डौ । महुली सामुदायिक लघुवित्त बित्तीय संस्थाले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । 

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा २ करोड ५४ लाख रहेको खूद नाफा घटेर २ करोड ४१ लाखमा सीमित बन्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको जगेडा, निक्षेप तथा कर्जा भने बढेको छ । अघिल्लो वर्ष १२ करोड रहेको जगेडाको आकार बढी १५ करोड ९१ लाखको उचाईमा पुगेको छ । 

कम्पनीले समीक्षा अवधिमा ६८ करोड ६२ लाख निक्षेप संकलन गरी तथा ७३ करोड ७५ लाख सापटी लिई १ अर्ब ४८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५६ करोड ५० लाख निक्षेप संकलन गरी तथा ५२ करोड ६० लाख सापटी लिई १ अर्ब १८ करोड बढी कर्जा परिचालन गरेको थियो ।

यो अवधिमा कम्पनीको खूद ब्याज आम्दानीमा १५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ । अघिल्लो वर्ष ११ करोड ३१ लाख रहेको यस्तो आम्दानी घटेर ९ करोड ६१ लाखमा सीमित भएको हो ।

कम्पनीको संचालन मुनाफा गत वर्षको भन्दा २.४१ प्रतिशतले बढेको छ भने १.८६ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा केही घटेर १.८२ प्रतिशतमा सीमित भएको छ।

नाफा घटेका कारण कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानीतर्फ पहिरो गएको छ । यहीकारण अघिल्लो वर्ष यही अवधिमा १२१.२७ रुपैयाँ रहेको इपीएस घटेर ५३.७५ रुपैयाँ कायम भएको हो । यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ३६५.२० रुपैयाँ तथा मूल्य आम्दानी अनुपात ५९.७३ गुणा कायम भएको छ ।