काठमाण्डौ । नेपाल राष्ट्रबैंकले एटीएम प्रयोगमा लाग्ने शुल्कको विषयमा नयाँ व्यवस्था गरेको छ । 

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले बैंक तथा वित्तीय संस्थाहरुका लागि बिहीबार एक सर्कुलर जारी गर्दै कोभिडका कारण पूर्ण निःशुल्क गरिएको एटीएम सेवा प्रयोगको विषयमा नयाँ व्यवस्था गरेको हो । 

माघ १ गतेदेखि लागू हुने नयाँ व्यवस्था अनुसार एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा महिनामा २ पटकसम्म नै शुल्क लाग्ने छैन । तर, त्योभन्दा बढी पटक प्रयोग गर्दा भने ग्राहकलाई त्यस्ता बित्तीय संस्थाहरुले शुल्क लिन पाउनेछन् । 

मासिक २ भन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाहरुले प्रति कारोबार ग्राहकबाट बढीमा रु. २० मात्र लिन पाउने व्यवस्था समेत गरिएको छ । 

यस्तै बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ग्राहकको पूर्व अनुमति लिएर र सेवा शुल्क बारे पूर्व जानकारी गराएर मात्र इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा बापतको शुल्क लिनसक्ने व्यवस्था समेत गरिएको छ । 

यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङको यूजरनेम र पासवर्ड हराएमा वा बिर्सिएमा आफैं प्राप्त गरी सेवा पुनः सुचारु गर्नसक्ने व्यवस्था समेत मिलाउनुपर्ने भएको छ ।