– अर्जुन तिमिल्सिना

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक नेपालको एउटा क्षेत्रीयस्तरको विकास बैंक हो। यो बैंक कम्पनी ऐन, २०६३ अन्तर्गत पूर्वको धरानलाई कार्यक्षेत्र बनाएर स्थापित भएको हो। यो बैंकका पूर्वी नेपालको धरान, विराटनगरलगायतका क्षेत्रमा १८ वटा शाखा कार्यालय छन्। बैंकले निक्षेप संकलन, कर्जा परिचालन र मोबाइल बैंकिङजस्ता सेवासुविधा दिँदै अएको छ। 

आधारभूत पक्ष 

बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म चुक्तापुँजी १ अर्ब १ करोड ५० लाख रुपैयाँ रहेको छ। बैंकको रिटेन अर्निङमा १४ करोड रुपैयाँ र जगेडा कोषमा २९ करोड ६३ लाख रुपैयाँ रहेको छ। 

चौथो त्रैमाससम्म बैंकको खुद नाफा १६ करोड २ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४ प्रतिशतले बढी हो। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस १५.७९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ, प्रतिसेयर कुल आम्दानी ७९७ रुपैयाँ र रिटर्न अन इक्विटी ११.०४ प्रतिशत रहेको छ। बैंकको खराब कर्जा अनुपात (एनपीएल) १.२५ प्रतिशत रहेको छ। बैंकको प्रतिसेयर वितरण योग्य मुनाफा १३.८३ रुपैयाँ रहेको छ। 

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।  

यो बैंकको सेयरभाउलाई इलिअट वेभबाट हेर्दा हाल सानो टाइम फेरेमको वेभ ३ चल्दै गरेको देखिन्छ। बैंकको न्यून मूल्य २७७ रुपैयाँदेखि ३८८ रुपैयाँसम्म वेभ १, सामान्य करेक्सन भएर वेभ २ मा ३१२ रुपैयाँसम्म, वेभ ३ मा पुनः बढोत्तरीका साथ ५०९ रुपैयाँसम्म र वेभ ४ मा करेक्सन भएर फेरि ४४८ रुपैयाँसम्म झर्न सक्छ। त्यसपछिको बढोत्तरीमा यो बैंकको सेयरमा वेभ ५ को बढोत्तरी हुन सक्ने देखिन्छ। त्यो भनेको आगामी ६ महिनादेखि १ वर्षमा ६२६ रुपैयाँसम्म यो बैंकको सेयरभाउ पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिर हेर्नुहोस्)

फियर एड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा यो बैंकको सेयरभाउ हाल न्युट्रल सेन्टिमेन्टमा चलेको छ। यसले यो बैंकमा सेयर खरिदकर्ता र बिक्रीकर्ता दुवै आक्रमक छैनन् भने संकेत गर्छ। बैंकको दोस्रो बजारमा ४०१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। बैंकको ५२ साताको उच्च मूल्य ४३० रुपैयाँ र न्यून मूल्य ३४८ रुपैयाँ रहेको छ। बैंकमा ५१ प्रतिशत सेयर संस्थापकको र ४९ प्रतिशत सेयर सर्वसाधरण समूहको रहेको छ।

बोलिंगर म्याक्डी र आरएसआईका आधारमा 

बोलिंगर ब्यान्डमार्फत हेर्दा मितेरी डेभलपमेन्ट बैंकको सेयरभाउले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ। यदि आगामी दिनमा त्यहाँभन्दा माथि गएमा बुल ट्रेन्ड लिन सक्छ। 

म्याक्डीमार्फत हेर्दा बियरिस क्रसओभर भ्यालिड नै रहेको छ।  हिस्टोग्राम नेगेटिभ भए पनि छोटा–छोटा हुँदै गएका छन्। बुलिस क्रसओभर भने हुन सकेको अवस्था छैन। आरएसआई ४० को तहबाट फर्केर हाल ४९ को तहमा पुगेको छ। 

समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा यो बैंकको सेयरभाउमा अल्पकालीन बाउन्स आउन सक्ने देखिन्छ।

पिभट विश्लेषणका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३ –४७९
  • प्रतिरोध २ –४५७
  • प्रतिरोध १– ४३३

पिभट प्वइन्टः ४११

घटेमा सपोर्ट 

  • सपोर्ट १– ३८७
  • सपोर्ट २– ३६५
  • प्रतिरोध ३ –३४१

निष्कर्ष

आधारभूत रुपमा मितेरी डेभलपमेन्ट बैंक बलियो नै रहेको देखिन्छ। बैंकको करिब ४५ करोड रुपैयाँबराबरको रिटेन अर्निङ र रिजर्भ रहेको छ। बैंकको पुँजी सामान्य बढ्दा रिटर्न अन इक्विटीमा पनि गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी र प्रतिसेयर वित्तरण योग्य मुनाफामा कमी आएको छ। तर, पनि बैंकका वित्तीय विवरणलाई सन्तोषतजनक नै मान्न सकिन्छ।

प्राविधिक रुपमा यो बैंक सेयरभाउ केही समयदेखि पिभट प्वइन्ट र पहिलो सपोर्टबीचमा घुमिरहेको छ। यदि आगामी दिनमा ४११ रुपैयाँभन्दा माथि गएमा अप ट्रेन्ड र ३९० रुपैयाँभन्दा तल गएमा केही समय करेक्नस चल्न सक्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।