काठमाण्डौ  । मिथिला लघुवित्त विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफातर्फ १४१ प्रतिशतको हाराहारीमा प्रगति गरेको हो । अघिल्लो वर्ष १४ लाख ७५ हजार खूद नाफा आर्जन गरेको बैंकले यो वर्ष ३५ लाख ५१ हजार नाफा आर्जन गरेको हो । 

कम्पनीको संचालन मुनाफामा पनि ११० प्रतिशत बढीको प्रगति भई ४७ लाख १८ हजारको उचाई चुमेको छ । 

व्यवसाय बिस्तारमा सामान्य प्रगति भएका कारण खूद ब्याज आम्दानी १ करोड ११ लाखबाट वृद्धि भई १ करोड ३१ लाखको उचाईमा पुगेको छ। 

समीक्षा अवधिमा मिथिला लघुवित्तले १९ करोड १० लाख बढी निक्षेप संकलन गरी तथा ४३ करोडको हाराहारीमा सापटी लिई ६७ करोड ४९ लाख बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १२ करोड ९० लाख निक्षेप संकलन गरी तथा ३२ करोड ५८ लाख सापटी लिई ४७ करोड ५१ लाख बढी कर्जा परिचालन गरेको थियो । 

कम्पनीले २ करोड २५ लाखमा सीमित रिजर्ब कोषलाई केही मजबुत बनाई २ करोड ५८ लाखको उचाई चुमाएको छ भने खराब कर्जाको अनुपात भने ३.३५ प्रतिशतमै स्थिर छ ।

अघिल्लो वर्षको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी १०९.३३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १० रुपैयाँ २८ पैसा रहेको प्रतिसेयर आम्दानी बढेर यो वर्ष २१ रुपैयाँ ५३ पैसा कायम भएको हो । समीक्षा अवधिमा मिथिला लघुवित्तको प्रतिसेयर नेटवर्थ १३९.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.५१ गुणा कायम भएको छ ।