काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक उन्नति गरेको छ ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षको तुलनामा १३०.८८ प्रतिशतले खुद नाफा बढाएको छ । समीक्षा अवधिमा संस्थाले १ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यही अवधिमा संस्थाले ७१ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले २ करोड ५० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । जुन गत वर्ष यही अवधिमा ९५ लाख ७५ हजार रुपैयाँमा सीमित थियो ।

दोस्रो त्रैमासमा संस्थाले ४ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्ष यही अवधिमा २ करोड ४९ लाख रुपैयाँ थियो । 

यो अवधिमा संस्थाले ३१ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २१ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी ७२ करोड ८९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले रिजर्भको आकार १३३.१६ प्रतिशतले बढाएको छ। गत वर्ष यही अवधिमा २ करोड ९४ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ६ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी १० करोड ५८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ६ करोड ५९ लाख रुपैयाँ रहेको थियो । 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३१.१२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १९.७० रहेको छ ।