काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १३८.६२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले २ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

संस्थाको सञ्चालन मुनाफा पनि १४५.७५ प्रतिशत ८ करोड २८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ करोड ३४ लाख रुपैयाँ रहेको छ। 

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी बढेर १२ करोड रुपैयाँ बढी पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ६५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले १ अर्ब ४ करोड रुपैयाँ सापटी लिई १ अर्ब ६९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष ८३ करोड ६१ लाख रुपैयाँ सापटी लिई १ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी १२ करोड १७ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १३६.०९ प्रतिशतले बढेर १५ करोड २३ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा ६ करोड ४५ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४६.१३ रुपैयाँ, पीई रेसियो ५०.८३ गुणा र प्रतिसेयर नेटवर्थ २२५.१३ रुपैयाँ रहेको छ।