काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ करोड ४० लाख खूद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ७८ लाख ४७ हजार नाफा आर्जन गरेको थियो । यो हिसाबले लघुवित्तले खूद नाफातर्फ ७८.४३ प्रतिशतको छलाङ मारेको देखिएको छ । 

यो लघुवित्तले अघिल्लो वर्ष १ करोड १८ लाखमा सीमित संचालन मुनाफामा समेत निकै राम्रो वृद्धि गरी २ करोड १३ लाख पुर्याएको छ । 

यस्तै, ३ करोड २६ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ४ करोड ११ लाख पुगेको छ । ९ करोड ११ लाख ब्याज आम्दानी गरे पनि ५ करोड बढी खर्च हुँदा खूद ब्याज आम्दानी ४ करोड ११ लाखमा सीमित बन्न पुगेको हो ।

समीक्षा अवधिमा यो लघुवित्तले २२ करोड ५४ लाख निक्षेप संकलन गरी तथा ५२ करोड ४७ लाख सापटी लिई ८४ करोड ३१ लाख बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीले १५ करोड ८० लाख निक्षेप संकलन गरी तथा ३२ करोड ७६ लाख सापटी लिई ५४ करोड ३२ लाख बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षको यही अवधिसम्म १ करोड ४९ लाखमा सीमित रिजर्बको आकार बढी यो वर्ष ३ करोड ९५ लाख पुगेको छ। यसरी रिजर्बमा यो लघुवित्तले १६४.६६ प्रतिशतको छलाङ मारेको देखिएको छ । 

यो लघुवित्तको व्यवस्थापन अघिल्लो वर्ष ३.७९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर २.६५ प्रतिशतमा सीमित पार्न सफल भएको छ । तर, ९.०६ प्रतिशतमा सीमित कस्ट अफ फण्ड अचाक्ली बढी १४.०८ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा यो लघुवित्तको वार्षिकीकृत प्रतिसेयर आम्दानी २८.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.१४ गुणा कायम भएको छ ।