काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आज भएको १२ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–२९ को लाभांश अनुमोदन भएको छ। 

भक्तपुरको घलातेंस्थित योयो बैंक्वेटमा सम्पन्न वार्षिक साधारणसभाले संस्थाले गत आर्थिक वर्ष २०७८–७९ को लाभांशस्वरुपको घोषित २३ प्रतिशत बोनस सेयरसहित सञ्चालक समिति अध्यक्ष टेकबहादुर बोहराबाट प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ। 

देशभर १५२ वटा शाखा सञ्जालमार्फत सेवा प्रवाह गरिरहेको मिर्मिरे लघुवित्तको २०७९ असार मसान्तमा  चुक्तापुँजी ५२ करोड २० लाख रहेकोमा चालु आर्थिक आर्थिक वर्ष २०७९–८० मा बुद्दज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी चुक्तापुँजीमा ९१ लाख २० हजारको बढोत्तरी भई ५३ करोड १२ लाख भएकोमा हालको बोनस प्रदान गर्दा वित्तीय संस्थाको चुक्तापुँजी ६५ करोड ३३ लाख कायम रहनेछ। संस्थाले हाल यसअघि नै ३ वटा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ।

२०७९ असार मसान्तसम्ममा निक्षेप २ अर्ब ७४ करोड, लगानीमा रहिरहेको कर्जा ८ अर्ब ८३ करोड र खुद मुनाफा १५ करोड ७४ लाख रहेको छ । एक–आपसमा गाभ्ने–गाभिने सम्बन्धमा गत पुस ११ गते मिर्मिरे लघुवित्त र विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुड़े लघुवित्तको प्रारम्भिक समझदारी सम्पन्न भइसकेको छ।