काठमाण्डौ । एसियाका सबैभन्दा धनीव्यक्ति मुकेश अम्बानीको रिलायन्स समूहको नयाँ कम्पनी जियो फाइनान्सियल सर्भिसेजले भारतीय सेयर बजारमा सूचीकरणसँगै चमत्कार गरेको छ। 

कम्पनीले चालु वित्त वर्षको दोस्रो त्रैमासको नतिजा सार्वजनिक गर्दै यस अवधिमा कम्पनीको नाफा १०१ प्रतिशतले बढेर भारु ६६८ करोड पुगेको जनाएको छ। योसँगै कम्पनीको आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ।

रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनी जियो फाइनान्सियल सर्भिसले दोस्रो त्रैमासिकको नतिजा सार्वजनिक गर्दै कम्पनीको नाफा गत वर्षको तुलनामा दोब्बर भएको जनाएको छ। रिलायन्स इन्डस्ट्रिजबाट छुट्टिएर नयाँ कम्पनी खोल्नुअघि कम्पनीको गत वित्त वर्षको दोस्रो त्रैमासमा करपश्चातको नाफा भारु ३७१ करोड थियो। जुन यसपटक भारु ६६८ करोड पुगेको छ। सोहीअनुसार हेर्ने हो भने कम्पनीले १०१ प्रतिशतले वृद्धि गरेको छ।

त्रैमासिक नतिजाअनुसार गत त्रैमासमा कम्पनीको आम्दानी भारु ६०८ करोड रहेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा भारु ४१४ करोड थियो। यसमा ४६.८२ प्रतिशतले वृद्धि देखिएको छ। 

मुकेश अमाबानीको यो कम्पनी रिलायन्स इन्डस्ट्रीजबाट अलग भएर यस वर्ष अस्तित्वमा आएको थियो। यसको सेयर गत २१ अगस्टमा भारतीय सेयर बजारमा सूचीकृत भएको थियो। –एजेन्सी