काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको १६ औं वार्षिक साधारणसभाले १४.२१०५ प्रतिशत लाभांश पारित गरेको छ ।

पुस ३० गतेका दिन पोखरामा सम्पन्न साधारणसभाले आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० का लागि लेखापरीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरुसहित आ.व. ०७८/०७९को मुनाफाबाट सेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदानगर्ने प्रस्ताव पारित गरेको हो । पारित लाभांशमध्ये १३.०५ प्रतिशत बोनस सेयर रहनेछ भने बाँकी कर प्रयोजनका लागि नगद लाभांश हुनेछ । 

बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । 

सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए । 

सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनउपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुखकार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।