काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यो नाफा करिब ४८ प्रतिशतले बढी हो । 

विकास बैंकमध्येकै तगडा यो बैंकले अन्य सूचकमा समेत कमालको फड्को मारेको देखिएको छ । 

अघिल्लो वर्ष १९ करोड ८४ लाखमा सीमित संचालन मुनाफामा ५७.११ प्रतिशतको बढोत्तरी भई ३१ करोड १७ लाखको उचाई चुमेको छ ।

व्यवसाय बिस्तारमा यो बैंकले लगातार प्रगति गर्दै गएको देखिएको छ । यसैको फलस्वरुप खूद ब्याज आम्दानीतर्फ ६५ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा २५ करोड ७९ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ४२ करोड ५७ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा मुक्तिनाथ विकास बैंकले ३३ अर्ब २५ करोड बढी निक्षेप संकलन गरी २८ अर्ब ८५ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १९ अर्ब ५४ करोड निक्षेप संकलन गरी १६ अर्ब ८० करोड कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष ९० करोड ९९ लाखमा सीमित रिजर्बकोषको आकार बढी १ अर्ब १४ करोड पुगेको छ भने ०.०३ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई अझ घटाएर बैंकले ०.०२ को न्यून स्तरमा झार्ने सफलता पाएको छ । 

समीक्षा अवधिमा मुक्तिनाथ विकास बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा अघिल्लो वर्षको तुलनामा २२.४२ प्रतिशतले बढोत्तरी भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २५ रुपैयाँ २६ पैसा रहेकोमा बढेर यो वर्ष ३० रुपैयाँ ९३ पैसाको उचाईमा पुगेको हो । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४४.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.८१ गुणा कायम भएको छ ।