काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म ७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ८०.५६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ३७ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ८२.७५ प्रतिशतले घटेर ९ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ५४ करोड १६ लाख रुपैयाँ थियो।

संस्थाको खुद ब्याज आम्दानी ७६ करोड १९ लाख रुपैयाँ छ। जुन अघिल्लो वर्षको तुलनामा ४.६५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ९ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ५.८४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल २.९४ प्रतिशत थियो। 

खराब कर्जा बढ्दा संस्थाले प्रोभिजनका रुपमा १० करोड ९७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज ७ करोड ९८ लाख रुपैयाँमात्र छुट्याएको थियो। 

समीक्षा अवधिमा खराब कर्जासँगै प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज बढ्नु र सञ्चालन मुनाफा घट्नुले मेरो माइक्रोफाइनान्सको नाफा प्रभावित भएको हो।

समीक्षा अवधिमा संस्थाले ८ अर्ब ६० करोड रुपैयाँ सापटी लिई १३ अर्ब ९३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष १० अर्ब ३९ करोड रुपैयाँ सापटी लिई १६ अर्ब ३५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार ९.२१ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्ष ४६ करोड ४९ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर ५० करोड ७७ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

चुक्तापुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ५.४५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३०.८६ रुपैयाँ थियो। पीई रेसियो १२१.३० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४६.१६ रुपैयाँ रहेको छ।