– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा १ दिन बजार बढ्यो भने ४ दिन घट्यो। 

अघिल्लो साता बजार १९२२.१६ को विन्दुमा बन्द भएको थियो। यो साता १८९३.७ को विन्दुमा बन्द भएको छ। यो हिसाबले बजारमा २८.४६ अंकको गिरावट आएको छ। अघिल्लो साता भने सेयर बजारमा झन्डै ६४ अंकको बढोत्तरी भएको थियो। 

यो साता बजारमा ७ अर्ब १५ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता लगभग ३ अर्ब रुपैयाँमा सीमित थियो। यो साता सूचक घटे पनि कारोबार भने बढेको छ। 

प्राविधिक पक्ष 

मुभिङ एभरेजका आधारमा

मुभिङ एभरेज भनेको मुभ हुँदै एभरेज निकाल्ने विधिलाई बुझिन्छ। यो विधिमार्फत बजारमा विशेषगरी ५ दिने र २० दिने रेखाहरुको चाल हेर्ने गरिन्छ। यो विधि पुँजीबजार तथा डेरिभेटिभ बजारमा प्रयोग गरिन्छ। 

बजारमा अहिलेको अवस्थामा हेर्दा २० दिने मुभिङ एभरेजलाई ५ दिने मुभिङ एभरेज रेखाले १ नेभेम्बरमा तलबाट काटेर बनेको बुलिस सिग्नल अहिलेसम्म पनि भ्यालिड नै रहेको छ।(माथि मुख्य तस्बिरमा हेर्नुहोस् हरियो एरो)

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआई 

नेप्सेको साप्ताहिक चार्टमा बोलिंगर ब्यान्डमा गएको जुलाईमा तल्लो ब्यान्डमा छोएर फर्केको बजारले मध्य ब्यान्डमा प्रतिरोधको सामना गरेको थियो। त्यसपछि अक्टोबरमा पुनः तल्लो ब्यान्डमा छोएर फर्केको बजारले यो साता पनि पुनः मध्य ब्यान्डमै प्रतिरोध सामना गरेको छ। यसले बजारमा बिक्रीचाप परेको देखिन्छ। 

साप्ताहिक चार्टमै म्याक्डीमा भने गत २४ जुलाईमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै देखिन्छ। आरएसआई भने गत १ वर्षदेखि नै ओभर सोल्ड जोनमा चलेको देखिन्छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत बजारलाई हेर्दा म्याक्डीले बुलिस क्रसओभर देखाए पनि आरएसआई र बोलिंगर ब्यान्डले कन्फर्मेसन नदिइसकेको अवस्था देखिन्छ। 

फिवोनासीका आधारमा 

फिवोनासीमार्फत हेर्दा बजारको आगामी सपोर्ट ०.२३ प्रतिशतको १९४७ मा, ०.३८ प्रतिशतको १९२१ मा, ०.५ प्रतिशतको १९०१ मा र ०.६१ प्रतिशतको १८८० मा रहेको छ। 

सुपर ट्रेन्डका आधारमा 

सुपर ट्रेन्डका आधारमा बजारलाई हेर्दा हालसम्म पनि मूल्यरेखा ट्रेन्ड लाइनभन्दा माथि छन्। सुपर ट्रेन्डको रङ पनि रातोबाट हरियो नै छ। यसले बजार अझै पनि मजबुत रहेको देखिन्छ। 

निष्कर्ष

यो साता बजारको सूचकमा २८.४६ अंकको गिरावट आएको छ। अघिल्लो साताको तुलानामा यो साता कारोबारमा सुधार भएको छ। यो साता ७ अर्बभन्दा बढीको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता जम्मा ३ अर्बको मात्रै भएको थियो।  

प्राविधिक रुपमा बजार अझै पनि मजबुत नै रहेको देखिन्छ। बजारको पछिल्लोपटकको आधारविन्दु १८१० लाई मानेर हेर्दा हालको बढोत्तरीको ०.६१ प्रतिशतको विन्दु १८८० मा देखिन्छ। यदि आगामी साता पनि यो विन्दुभन्दा माथि–माथि कारोबार हुन्छ भने बजार मजबुत नै रहेको मान्न सकिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।