काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीहरुका लागि बोनस सेयरसहित १३.०५ प्रतिशत लाभांश पारित गरेको छ।
काठमाण्डौमा बुधबार सम्पन्न मेगा बैंकको १० औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३.०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैँया ७९ पैसा लाभांश पारित गरेको हो। त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुपैँया ६१ पैसा बोनस सेयर र ३.०५ प्रतिशतले हुन आउने रकम ४० करोड ६३ लाख ४२ हजार २ सय १० रुपैंया १९ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ।
साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ। मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो।
यसैगरी साधारण सभाले गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ।
साधारणसभामा अध्यक्ष शाहले आर्थिक बर्ष २०७६/७७ को शुरुको आठ महिना देशको अर्थतन्त्र राम्रै भए पनि त्यसपश्चात कोभिडको महामारीका कारण प्रतिकुल असर परेकाले नेपालको बैंकिङ क्षेत्रले पनि चुनौती भोगिरहेको बताए। ‘हाल बजारमा अधिक तरलता रहेको अवस्था छ, जसले गर्दा कर्जा तथा निक्षेपको ब्याजदर घटिरहेको छ भने त्यसको प्रभावस्वरुप आधार दर पनि घट्दै गइरहेको हुँदा कर्जाको ब्याजदरमा तीव्र प्रतिस्पर्धाको अबस्था छ’, उनले भने, ‘कर्जामा घट्दो ब्याजदरले प्रभावित ब्यवसायीहरुको कारोबारलाई मलम लगाउने कार्य त गरेको छ। तर, यसले बैंकिङ क्षेत्रमा ब्याजदर जोखिम समेत बृद्धि गरेको छ। त्यसैले बिभिन्न जोखिमसँग सम्बन्धित आन्तरिक तथा बाह्य गतिविधिको मेगा बैंकले सुक्ष्म अध्ययन एवं विश्लेषण गरिरहेको छ।’
बन्दाबन्दीको अवस्थामा पनि बैंकले सर्वसाधारणहरुलाई बैंकिङ सेवा र सुविधाहरु अटुट रुपमा प्रदान गरेको स्मरण गर्दै शाहले कोभिड १९ को चुनौतीलाई मध्यनजर गर्दै बैंकले ‘डिजिटल प्रडक्ट विभाग’ को स्थापना गरेको जानकारी दिए। उनका अनुसार डिजिटल बैंकिङलाई प्रबद्र्दन गर्ने उद्देश्यले मेगा बैंकले ‘डिजिटल ट्रान्सफर्मेशन स्टेरिङ कमिटी’ गठन गरी कार्यान्वयन ल्याएको छ। ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधा स्वरुप मेगा बैंकले नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’ समेत संचालनमा ल्याएको उनले बताए।
साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले कोभिडबाट अन्य व्यवसाय जसरी बैंकिङ क्षेत्र समेत प्रभावित भए पनि मेगा बैंकको वित्तिय परिसचूक सन्तोषजनक रहेको बताइन्।
चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप १ अर्ब २४ करोड रुपैयाँले बृद्धि भई १ खर्ब ३३ अर्ब २६ करोड रुपैँया पुगेको छ। यसैगरी खुदकर्जा ८ अर्ब रुपैँयाले बृद्धि भई १ खर्ब २१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
गत त्रैमासमा बैंकले ६० करोड ७९ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको थियो।
मेगा बैंकले बिभिन्न छुट तथा सुविधाहरु प्रदान गरिरहेको जानकारी दिँदै खुञ्जेलीले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुट लगायतले कोभिडबाट प्रभावित ग्राहकहरुलाई राहत मिलेको बताइन्। उनका अनुसार कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब १ अर्ब ९० करोड रुपैंया सहुलियत कर्जा र २ अर्ब ४२ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19