काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ७१.६४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यही अवधिमा संस्थाले ८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत ३० करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष खुद ब्याज आम्दानी २४ करोड ९ लाख रुपैयाँमा रहेको थियो। 

संस्थाले दोस्रो त्रैमासमा ७ अर्ब २९ करोड रुपैयाँ सापटी लिई १० अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष संस्थाले ३ अर्ब ५७ करोड रुपैयाँ सापटी लिई १ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। खुद ब्याज आम्दानीसँगै कर्जा र निक्षेपको विस्तारले संस्थाको व्यापार आक्रमक रहेको प्रस्ट हुन्छ। 

संस्थाले रिजर्भको आकार २८.८३ प्रतिशतले बढाएर ३४ करोड ५३ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा २६ करोड ८० लाख रुपैयाँ रहेको थियो। 

संस्थाको चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको छ। 

समीक्षा अवधिमा संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी १९.१८ रुपैयाँबाट बढेर २८.१५ रुपैयाँ पुगेको छ। पीईएस ३६.४२ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३४.५४ रुपैयाँ रहेको छ।