-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/ ०८१ को म्रौद्रिक नीतिको समीक्षा लचकदार आएको पूर्व गभर्नरले बताएका छन् ।
 

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना  आयोगका पूर्वउपाध्यक्ष समेत रहेका दीपेन्द्रबहादूर क्षेत्रीले यो समीक्षालाई सकारात्मक रुपमा लिनु पर्ने प्रतिक्रिया दिएका छन् ।

उनी भन्छन्, ‘नेपाल राष्ट्र बैंकलाई  बैंकदर घटाउन मैले पनि सुझाव दिएको थिएं । बैंकदर एक प्रतिशतले घट्यो भने बेसरेट(आधारदर) पनि घट्छ र यसले ब्याजदर पछि घटाउन सहयोग गर्छ ।’
उनका अनुसार तर यसको एउटा जोखिम के हुन्छ भने नीक्षेपको ब्याज दर पनि घट्दा उपभोग बढेर मूल्य बृद्धि हुने जोखिम हुन्छ । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरिदियोस भन्ने उद्धेष्यले सरकारले गभर्नरलाई दबाब दिएको पनि बताए । 

 

उनले भने, ‘अमेरिकामा पनि बैंकदर दुई प्रतिशतबाट पाँच प्रतिशत पुगेको छ, सेयर कर्जामा जोखिम भारको विषयमा पनि कर्जा लिनेको लागि उचित अनुकुल वातावरण सृजना भएको छ ।’

उनले अमेरिकाको प्रसंग जोड्दै आर्थिक समस्या सृजना भएपछि बिल्गेट्स फाउण्डेसनले सर्वसाधारणलाई साइकल प्रयोग गर्न भनेको पनि बताए ।

त्यसैगरि, पूर्वगभर्नर चिरञ्जिवि नेपालले आजको म्रौद्रिक नीतिको समीक्षाबारे संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले भने, मौद्रिक नीति पक्कै पनि लचक आएको छ, यसले केहि सहजता ल्याउला ।’
उनका अनुसार यसले ब्याजदर घट्ने संकेत देखाएको छ । उनी भन्छन्, ‘बजारमा मुख्य कुरा त मनोबलको विषय पनि छ । त्यो हेर्न भने बाँकी नै छ । सेयर कर्जामा जोखिम भार घट्ने र ऋणको पुनरतालिका गर्ने विषय पनि छ । यो सकारात्मक पक्ष हो ।यसले अब समग्र बजार चलायमान हुन सक्छ ।’