काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजार ४५.९८ अंकले बढेर २ हजार १०६.४८ को विन्दुमा बन्द भएको छ ।

मौद्रिक नीतिको समीक्षा आउनु अगाडि सेयर बजार १ हजार ८५२को विन्दुमा थियो । बजार बढ्ने क्रम भने मौद्रिक नीतिको समीक्षापछि जारी रहेको छ । यो बीचमा बजार २५४ अंकले बढीसकेको छ ।

मंगलबार राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.०५ अंकले बढेर ३९७.९६ को विन्दुमा पुगेको छ। 
 

आज नेप्सेमा सूचीकृतमध्ये  ३१३ कम्पनीका १ करोड ६४लाख ५७ हजार १३८ कित्ता सेयर ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँबराबरको कारोबार भएको छ । 
आजको बजारको विषयमा बजार जानकार विरेन्द्र विष्ट भन्छन्, ‘अहिले सेयर बजारका लागि सबै क्षेत्र अनुकुल छन्, केहि नीतिमा पनि परिवर्तन भइसकेको छ, आगामी दिनमा अझै नीतिमा सहज हुने विश्लेषण पनि छ र घट्दो ब्याजदर तथा बढ्दो तरलताले बजारलाई माथि लान सहयोग गरेको हो ।सरकार पनि परिवर्तन हुन लागेको हल्ला बजारमा सुनिन्छ ।

उनका अनुसार, आज नसोचेका कम्पनीहरुले राम्रो लाभांश घोषणा गरेका कारण पनि बजार बढ्न टेवा पुगेको हो ।

अर्का बजार जानकार उपेन्द्र पाठक नीतिमा परिवर्तन भएकै कारण बजार बढ्न सहयोग पुगेको बताउँछन् ।

उनी भन्छन्,‘ बजारमा आजभोलि सेयर सस्तो भएको छ र ब्याजदर पनि घटेको छ । यहि कारणले गर्दा नै दिनप्रतिदिन कारोबार र भोलुम पनि बढेको हो ।दैनिक रुपमा लगानीकर्ताहरु भित्रिने क्रम सुरु भइसकेको छ । यसकारण यसपाली २ हजार २०० विन्दु कटेर सहज रुपमा माथि जान्छ ।नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको निर्देशिकामा केहि सहज नीति आउने चर्चा पनि सुनिन्छ । यी लगायतका कारणले गर्दा बजार बढेको हो ।’
 

आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूहमा नै हरियाली छाएको छ । यो दिन सबैभन्दा बढी होटल्स एन्ड टुरिजम समूह  सबैभन्दा धेरै बढेको छ ।यो दिन यो समूह ६.९४ प्रतिशतले बढेको छ । 
त्यसैगरी, दोस्रोमा उत्पादन तथा प्रोसेसिङ समूह ४.७४ प्रतिशतले बढेको  छ। यसैगरी, यो दिन जीवन बीमा समूह ३.१२ प्रतिशतले  बढेको  छ। त्यस्तै बैंकिङ समूह २.४६ प्रतिशतले बढेको  छ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट्सको भएको  छ। कम्पनीको ३७ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यसैगरी, दोस्रोमा सोल्टी होटल्सको २८ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै सोनापुर आयल एन्ड मिनरल्सको १६ करोड ७१ लाख रुपैयाँभन्दा बढीको सेयर बिक्री भएको  छ।

त्यस्तै  हाथवे इन्भेष्टमेन्ट नेपालको १४ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
 त्यस्तै घोराही सिमेन्टको १३ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन १२ ओटा अलग- अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा बोटलर्स नेपाल (बालाजु), मेरो माइक्रोफाइनान्स, उन्नति लघुवित्त वित्तीय संस्था,  शिवम् सिमेन्टस्, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट नेपाल,मीड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एन्ड आयल, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र ग्लोबल आइएमई ब्यालेन्स फन्ड रहेका छन् ।

 

यसैगरी, यो दिन सिद्धार्थ इन्भेष्टमेन्ट स्किमको इकाई ७.२६ प्रतिशतले घटेको छ।

त्यस्तै माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ४.९० प्रतिशतले घटेको  छ।