काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति भोलि(शुक्रबार) सार्वजनिक गर्ने भएको छ । 

केहीबेरअघि सकिएको राष्ट्रबैंकको बोर्ड बैठकले अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीति पास गर्दै भोलि सार्वजनिक गर्ने निर्णय गरेको हो । 

‘केन्द्रीय बैंकस्थित स्रोतका अनुसार मौद्रिक नीति भोलि(शुक्रबार) दिउँसो २ देखि ३ बजेको बीचमा गभर्नरको कार्यालयबाट सार्वजनिक गरिनेछ । २ या ३ बजे भन्ने बिषयको निक्र्यौल भोलि बिहान ८ बजे पुनः बस्ने बोर्ड बैठकले तय गर्नेछ ।’ स्रोतले भन्यो–‘मौद्रिक नीतिलाई अन्तिम रुप दिनका लागि भोलि बिहान ८ बजे पनि बोर्ड बैठक बोलाइएको छ । आजको बोर्डले मौद्रिक नीतिको प्रत्येक दफा चेक गर्ने काम आधा मात्र गर्न भ्याएका कारण भोलि बिहान पुनः बैठक बोलाइएको हो ।’ 

गभर्नरको कार्यालयमा राष्ट्रबैंकका बोर्ड सदस्यहरुको मात्र उपस्थितिमा मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय भएको समेत बताइएको छ । गभर्नरले सार्वजनिक गर्ने मौद्रिक नीतिको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट गरिने समेत निर्णय भएको छ । 

यो पटकको मौद्रिक नीतिलाई सबै क्षेत्रले चासोका साथ हेरेको छ । कोभिड १९ का कारण उद्योग व्यवसाय लगायतका परेको असर न्यूनिकरणका लागि मौद्रिक नीतिले ठोस कार्यक्रम ल्याउने अपेक्षा गरिएको छ । 

के के आउँदैछ नयाँ ?
स्रोतका अनुसार मौद्रिक नीतिमार्फत बैंकको साँवाब्याजको किस्ता तिर्ने समय पर सार्ने घोषणा हुनेछ । 

यस्तै, ब्याजको पूँजीकरण गरिदिने, कर्जाको नवीकरण गरिदिने लगायतका व्यवस्था समेत आउनेछन् । 

आवश्यक भएकाहरुलाई वर्किंग क्यापिटलको २० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था समेत मौद्रिक नीतिमार्फत हुनेछ । 

कोरोना महामारीको असरका आधारमा बैंकहरुले मूल्यांकन गरेर ऋणको पुनरतालिकीकरणको सुविधा समेत उपलब्ध गराउने महत्वपूर्ण घोषणा समेत हुनेछ । ‘असरको आधारमा कसैलाई ६ महिना, कसैलाई १० महिना, कसैलार्य १२ महिनासम्म म्याद थपिदिने व्यवस्था हुनेछ ।’ स्रोतले भन्यो–‘समग्रमा कोभिड १९ बाट प्रभावितहरुलाई राहात दिने खालको मौद्रिक नीति तयार भएको छ ।’ 

बैंकहरुबीचको बिग मर्जरको विषयमा भने बिहीबार साँझसम्म पनि ठोस निर्णय हुन सकेको छैन । ‘बिग मर्जरको विषयमा कुनै डिसीजन भइसकेको छैन, छलफलकै क्रममा छ ।’ स्रोतले भन्यो–‘भोलि बिहानको बोर्डबाट केही डिसीजन हुनसक्छ ।’