काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । 

मौद्रिक नीतिका प्रत्येक दफा हेर्दै छलफल गर्दै पारित गर्ने गरेको राष्ट्रबैंकको बोर्ड बैठकले बिग मर्जर लगायत थाँती रहेका विषयमा आज बिहान निर्णय गरेपछि सार्वजनिक गर्ने समय तोकिएको हो । आज नै बोर्डले मौद्रिक नीति पारित गरिसकेको छ । 

दिउँसो ३ बजे गभर्नरको कार्यालयबाट केन्द्रीय बैंकका संचालक तथा सीमित कर्मचारीहरुको उपस्थितिमा मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम छ । मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रमको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको छ । 

के-के आउँदैछन् नयाँ ?
राष्ट्रबैंकले मौद्रिक नीतिमा बिग मर्जर(मर्जर)लाई स्वेच्छिक बनाएको छ । यसअघि हल्ला चलेजस्तो कुनै पनि संस्थालाई फोर्स मर्जर नगराउने नीति लिइएको छ । 

स्रोतका अनुसार मर्जरमा जानका लागि विभिन्न खालका सुविधा तथा प्रोत्साहनहरु भने घोषणा गरिनेछ । मर्जरमा जानैपर्ने र नगए कारबाही हुने व्यवस्था हुने छैन । 

एकै प्रकृतिका वित्तीय संस्थाहरुबीचको मर्जरका लागि आकर्षक सहुलियत आउने स्रोत दाबी गर्छ । यो व्यवस्थाले मर्जरको सुविधा लिनलाई साना संस्था प्राप्ति गर्न खोज्ने ठूला बैंकहरुको चलाख्याई केही हदसम्म भए पनि रोकिने आशा गरिएको छ । 

मर्जरको विषयमा कस्तो नीति ल्याउने भन्ने बारेमा हिजो साँझको बोर्ड बैठकमा मत बाँझिएपछि त्यसलाई थाँती राखिएको थियो । थाँती भएको सो विषयमा शुक्रबार छलफल गरी मर्जरलाई स्वेच्छिक मात्र बनाउने निर्णय भएको हो । 

यसैबीच, मौद्रिक नीतिमार्फत बैंकहरुले कायम गर्नुपर्ने कर्जा निक्षेप पूँजी(सीसीडी) अनुपात संसोधन हुने भएको छ । हाल बैंकहरुले यस्तो अनुपात ८० प्रतिशत कायम गर्दा हुन्छ । तर, मौद्रिक नीतिले यसलाई बढाएर ८५ प्रतिशत पुर्याएको बताइएको छ । स्रोतका अनुसार लगानीयोग्य रकमको अभाव हुन नदिनका लागि सीसीडीको सीमा बढाइएको हो । यसले ऋणको ब्याजदर समेत केही घट्न सहयोग गर्ने अपेक्षा गरिएको छ । 

बैंकरहरुले लामो समयदेखि सीसीडी अनुपात राख्ने व्यवस्था नै खारेज हुनुपर्ने माग राख्दै आएका थिए । यो पटक उनीहरुले यो व्यवस्था खारेज गर्न नसकिए सीमा चाहि बढाउनुपर्ने माग राखेका थिए । केन्द्रीय बैंकले सो मागलाई सम्बोधन गरिदिएको हो । 

घर, गाडी र सेयर धितोकर्जाको सीमा बढ्ने
यसैबीच, मौद्रिक नीतिमा आवासीय घर कर्जा, गाडी कर्जा र सेयर धितो कर्जाको सीमा समेत बढाउने व्यवस्था गरिएको छ । 

आवासीय घर कर्जाको सीमा १० प्रतिशतले बढाइएको छ भने गाडी कर्जाको सीमा समेत ६० प्रतिशत पुर्याइएको छ । हाल गाडी कर्जाको सीमा ५० प्रतिशत रहेको छ । तर, गाडी कर्जाको यो सीमा सम्बन्धी सुविधाका लागि निश्चित सीसी तोकिनेछ । महंगा गाडी र धेरै ठूलो क्षमताका गाडीमा भने कर्जा प्रवाहलाई कडाई गरिनेछ । 

यसैबीच, लामो समयदेखि सेयर लगानीकर्ताले माग गर्दै आएका सेयरधितो कर्जाको सीमा समेत बढाइएको छ । सेयर धितोकर्जाको सीमा ५ प्रतिशतले बढाएर ७० प्रतिशत पुर्याइएको छ । 

नगद लाभांशमा अंकुश
यसैबीच, केन्द्रीय बैंकले गत वर्षको नाफाबाट ३० प्रतिशतभन्दा बढी नगद लाभांश बाँड्न रोक लगाउने गरी मौद्रिक नीति तयार गरेको छ । बोनस सेयर वितरणमा भने कुनै सीमा निर्धारण गरिएको छैन ।