काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा अर्को सातासम्म गर्ने भएको छ ।
राष्ट्रबैंकका प्रवक्ता डा. गुणाकर भट्टले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पूर्व तयारी सुरु भइसकेको र अर्को सातासम्म समीक्षा सार्वजनिक हुने बताएका छन् ।
मौद्रिक नीतिको मध्यावधि समीक्षामा अर्थतन्त्रको अवस्था, तरलताको अवस्था लगायतका विषयमा केन्द्रीत रही आवश्यक परे नीतिगत परिवर्तनहरु समेत गर्न सकिने उनले जानकारी दिए । ‘समग्र अर्थतन्त्रको अवस्थाको प्रष्ट तस्विर हाम्रो तर्फबाट राष्ट्रबैंक संचालक समितिमा पेश हुनेछ र त्यसका आधारमा कुनै आवश्यक निर्णय गर्नुपरे बोर्डले गर्नेछ ।’ उनले भने–‘अहिले नै मौद्रिक नीतिको समीक्षामा यो वा त्यो आउँदैछ भनेर कसैले भन्छ भने त्यो आधारहीन हुन्छ ।’
राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन ३ वा ४ गतेसम्म आउनसक्ने बताए । 'हाम्रो बैठक फागुन ३ र ४ गते छ, त्यही बेला समीक्षा पनि आउनसक्छ ।' उनले भने-'मौद्रिक नीतिकै समीक्षाको पूर्व तयारीको रुपमा आज बैंकरहरुसँग छलफल राखिएको छ ।'
यसैबीच, राष्ट्रबैंकका अर्का एक उच्च अधिकारीले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको भूत देखाएर सेयर बजारमा खेल्ने काम भइरहेको दाबी गर्दै बजारमा प्रभाव पर्ने खालका ठूलो नीतिगत परिवर्तन यो पटक पनि नहुने प्रष्ट पारे । ‘अहिलेसम्मको अवस्था र तयारी हेर्दा सेयर धितो कर्जाको सीमा चलाउने अवस्था छैन ।’ ती अधिकारीले बिजशालासँग भने-'अहिले नै तरलता टाइट हुनसक्ने आधार समेत देखिएको छैन भने सरकारका सबै निकाय सेयर बजारलाई चलाएर लगानीकर्तालाई अस्तव्यस्त पार्ने लाइनमा छैनन् ।’
ती अधिकारीको भनाईमा यदि राष्ट्रबैंकका कुनै अधिकारीको जोडबलमा सेयर धितो कर्जाको सीमा घटाउने वा यस्तै बजारलाई प्रभाव पार्ने कुनै नीतिगत व्यवस्था भइहाले पनि त्यसलाई अर्थमन्त्रीले रोक्ने अवस्था छ । ‘विगतमै पनि सेयर धितो कर्जाको सीमा घटाउने निर्णय नै भएको थियो नि, तर अर्थमन्त्री बजारप्रति गम्भीर हुनुभएका कारण अन्तिम अवस्थामा त्यो नीति रोकियो ।’ ती अधिकारीले भने–‘यसपटक पनि बजारमा हलचल हुने गरी कुनै पनि नीतिगत परिवर्तन हुँदैन । फेरि चुनाव गराउने तयारीमा रहेको यो सरकार बजारमा प्रभाव पार्ने गरी कुनै नीति ल्याएर २६ लाख बढी सेयर लगानीकर्ताको मत गुमाउने लाइनमा जानै सक्दैन ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19