काठमाण्डौ । यो साताको पहिलो कारोबारमा  बजार लगभग २४ अंकले गिरावट आएको छ। बजारमा लगातार ५ वटा राता क्यान्डल बनेका छन् भने बजार लगभग १३६ अंकले लगातार घटेको छ। 

पछिल्लोपल्ट लगभग २२७५ विन्दुसम्म पुगेको बजारमा लगभग ७ अर्ब रुपैयाँको कारोबार भएको थियो। एकपटक बजार बढेर झर्न थालेपछि बजार कतिसम्म तल आउन सक्छ भनेर अनुमान लगाउने हालसम्मको एउटा विधि भनेको फिवनासी सपोर्ट विन्दु नै हो।

यो विन्दुलाई हेर्दा हाल बजार फिवोनासीकै ०.५ प्रतिशतको विन्दु २०६० बाट तल झरेर २०४६ को विन्दुमा बन्द भएको छ। अबको अर्को सपोर्ट विन्दु भनेको ०.६१ को २०१२ मा पर्ने देखिन्छ। २००० को विन्दु मनोवैज्ञानिक हिसाबले पनि महत्वपूर्ण रहेको देखिन्छ। यही विन्दु आसपासमा फिवोनासीको ०.६१ को विन्दु पनि परेको देखिन्छ। 

यसअघि पनि बजारमा लगभग यही विन्दु तथा केही अंक अझै तल आएपछि बाउन्स आएको देखिन्छ। कारोबार पनि पछिल्लोपटक २ अर्बभन्दा माथि हुन सकेको छैन। यसले विस्तारै बजार घट्दै जाँदा कारोबार पनि घट्दै गएको अवस्था देखिन्छ। 

दैनिक चार्टमा बोलिंगर ब्यान्डबाट बजारलाई हेर्दा ब्यान्डको तल्लो विन्दु छोएको देखिन्छ। तर, म्याक्डीमार्फत हेर्दा भने गत २५ जनवरीमा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ नै छन्। यसमा कुनै सुधार भने आएको छैन। 

आरएसआई पनि ३९ को तहमा रहेको देखिन्छ। यस्तो विन्दु लगभग ३० को ओभर सोल्ड जोनमा  पनि आउन सक्छ। यसले बजारमा केही समय साइडवेज चलेर पुनः माथिको यात्रा तय गर्न सक्छ। 

नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।