काठमाण्डौ । बैंकबाट ऋण लिनुु आजको समयमा धेरैका लागि अत्यावश्यक जस्तो भइसकेको छ । आफ्ना आवश्यकता पूरा गर्न होस् वा बिजिनेश संचालन गर्न, घर बनाउन तथा गाडी खरीद गर्न नै किन नहोस्, हामी बैंकसँग ऋण लिन्छौ । कहिलेकाही भने इमरजेन्सी अवस्थामा समेत हामी लोन लिन बाध्य हुन्छौ । 

त्यसो त नेपालका बैंकहरुले ऋण लिने प्रक्रियालाई निकै सरलीकृत गरिसकेका छन्, जसका कारण धेरैका लागि ऋण लिनु निकै सहज, स्वभाविक र सामान्य भइसकेको छ । त्यसो त अहिले नेपालका धेरैजना लगानीका लागि भन्दा पनि उपभोगका लागि बैंकबाट ऋण लिने गल्ती गर्छन, जुन राम्रो प्रवृति होइन । यस्तै गल्तीका कारण बैंकबाट लिएको ऋण बढ्दै जाँदा यति धेरै पुगिसकेको हुन्छ कि जुन तिर्न निकै धौ धौ नै पर्नसक्छ । 

हामी तपाईलाई यहाँ केही एजेन्सी र विज्ञको सहयोगमा यस्तो सामाग्री पस्किन खोजिरहेका छौ, जसले तपाईलाई आफ्नो नियमित बजेटमा ठूलो परिवर्तन बिना नै सामान्य ढंगले ठूलो ऋण समेत तिर्ने विधि सिकाउनेछ । 

ऋणलाई सानो–सानो किस्तामा बाँड्ने गर्नुहोस्
सबैभन्दा पहिला यदि तपाईले ऋण लिने योजना बनाइरहनुुभएको छ भने सुरुमै त्यसलाई कसरी तिर्ने भन्ने योजना पनि बनाउनुहोस् । जब तपाईलाई लाग्छ कि आफूले लिएको ऋण तिर्न कुनै समस्या हुँदैन, तब मात्र कर्जा लिने प्रक्रिया अगाडि बढाउनुपर्छ । 

यदि तपाईले ऋण लिनुुभएको छ भने त्यसलाई तिर्न ठूलो आकारको किस्ता चुकाउनुपर्यो भने तपाईको नियमित(मासिक) बजेट खलबलिन सक्छ । कुनै महिना त त्यति ठूलो लोनको किस्ता बुुझाउन समेत असंभव हुनसक्छ । यस्तो अवस्थामा तपाईले आफ्नो लोनलाई सानो र तिर्नसक्ने किस्तामा बाँड्नुपर्ने हुन्छ । ऋणको किस्ता तिर्नका लागि हरेक महिनाको क्यालेण्डरमा एउटा निश्चित दिन तय गर्नुहोस् । आफ्नो फोनमा रिमाइण्डर समेत लगाउन सक्नुुहुन्छ । 

कर्जालाई लगानीमा प्रयोग गर्नुहोस् 
तपाईले उपभोगका लागि भन्दा लगानीका लागि ऋण लिनुु र ऋण लिएर लगानी गर्नुमै भलाई हुन्छ । लगानी गरेपछि तपाईलाई मुनाफा हुनसक्छ, त्यसैबाट तपाईले लोनको ब्याज चुकाउन सक्नुुहुन्छ । उता, कतिपय अवस्थामा उपभोगका लागि लिइने ऋणको ब्याजदर समयमा चुकाउन सकिएन भने तपाईको लोन अझ बढ्दै जान्छ, जरीवाना थपिँदै जान्छ । यस्तो समस्या आउनबाट बच्नुपर्छ ।

दैनिक खर्चमा कटौति गर्नुहोस्
आम रुपमा मानिसले ऋण लिएर आफ्नो दैनिक खर्चलाई बढाउने गम्भीर गल्ती गरिरहेको हुन्छ, यस्तो प्रवृति तपाईमा पनि हाबी भयो भने डुुब्न कुनै बेर लाग्दैन । त्यसकारण, यदि तपाईले ऋण लिनुुभएको छ भने दैनिक खर्च कम भन्दा कम गर्ने प्रण गर्नुहोस् र त्यसलाई व्यवहारमा पालना गर्नुहोस् । जस्तो, अरुबेला यदि तपाई चिया वा कफी वा नास्ता गर्न महंगो होटल वा रेष्टुराँ गइरहनुु हुन्थ्यो भने लोन लिएपछि सस्तो होटल छान्ने गर्नुहोस् । तपाईले यस्ता साना–साना जस्ता लाग्ने खर्चमा गरेको बचत थपिँदै गएर ऋण चुकाउन सहज हुनेछ । 

बैंकसँग खास व्यवस्था गर्नुहोस्
बैंकसँग सल्लाह गरेर यस्तो व्यवस्था गर्नुहोस् कि ऋणको हरेक महिनाको किस्ता तपाईको तलब आउने खाताबाट सिधैं ऋण तिर्ने खातामा जम्मा होस् । यसले खाताबाट ट्रान्सफर गर्ने बोझ समेत हुँदैन । यसले कुनै पनि महिना ढिला नभई तपाईको बैंकको किस्ता ठीक समयमा जम्मा पनि भइराख्न मद्धत मिल्छ । 

अतिरिक्त भुक्तानी पनि गर्नुहोस्
वर्षभरिको कुनै महिना यदि तपाईले अतिरिक्त आम्दानी गर्नुभयो भने त्यसलाई आफ्नो खर्च बढाउनभन्दा कर्जा तिर्नतिर प्रयोग गर्नुहोस् । यसबाट भविष्यमा तपाईको बोझ मात्र कम हुँदैन, कठीन समयमा समेत यसले फाइदा दिन्छ । त्यति मात्र होइन, यसरी अतिरिक्त रुपमा गरिएको भुक्तानीले मूलधनको ब्याजको भार घटाउन समेत मद्धत गर्छ । 

बित्तीय सल्लाहकारको सहयोग लिनुहोस् 
लगानी वा तलबका कारण लगातार बढिरहेको आम्दानीको सही व्यवस्थापनका लागि तपाईलाई एक बित्तीय सल्लाहकारको समेत आवश्यकता पर्नसक्छ । बित्तीय सल्लाहकारले तपाईलाई कर छुटको पूरा लाभ उठाउने बिषयमा मात्र सहयोग गर्दैनन्, बरु लगानीका लागि सही विकल्प छनौटमा समेत तपाईलाई सहयोग गर्छन् । त्यसकारण एक बित्तीय विशेषज्ञबाट प्राप्त जानकारीको आधारमा मात्र तपाईले सही विकल्प छनौट गर्न सक्नुुहुन्छ र एक उत्कृष्ट बित्तीय निर्णय लिन सक्नुुहुन्छ । 

बित्तीय रुपमा स्वतन्त्र बन्नुहोस्
ऋणको उपयोग अधिकभन्दा अधिक पैसा कमाउन प्रयोग गर्नुहोस् । त्यसपछि लिएको ऋण तिर्नुहोस् र नाफाबाट बचेको रकमलाई आफ्नो सुरुवाती पूँजीको रुपमा प्रयोग गरी राम्रो विजिनेश थाल्नुहोस् । यदि अगाडि बढ्नका लागि तपाईलाई फेरि ऋणको आवश्यकता पर्यो भने फेरि लिने र त्यसलाई समयमै बुुझाउने समेत सँगै प्रण गर्नुपर्छ । 

ऋण तिर्न ऋणकै साहारा
यदि तपाईसँगको सम्बन्ध राम्रो छ र बित्तीय रुपमा तपाईको इतिहास क्लियर छ भने अधिक ब्याजदर भएको लोन चुकाउन सस्तो ब्याजदर भएको लोन समेत लिन सकिन्छ । यो पनि ऋणको भार कम गर्ने एउटा विशेष तरिका हो ।