►आर.आर हरिकृष्ण जोशी
साना हुन या ठूूला कर्मचारी अनुशासनमा रहनु र आफ्नो कार्य व्यवस्थित रुपले गर्नु पर्दछ । जसले सबैलाई सफलता प्राप्त गर्न सहयोग गर्दछ । असल कर्मचारी बन्नु नै तपाई सँगसँगै व्यवसायको पनि उन्नति हुनु हो । 

सबै मानिस आफ्नो प्रगति चाहन्छ, तिनै आफ्नो प्रगति चाहनेको दृष्टिकोण र काम गर्ने ब्यबहारबाट त्यस कम्पनी वा कम्पनीको ब्यापार निर्भर गर्दछ । भनाई नै छ नि सफल संस्था, सफल ब्यबसायी बन्न वा व्यबसाय बिस्तार गर्न कति कर्मचारी छन्, त्यो ठूूलो होईन, ठूूलो त त्यो हो जहाँ कति असल कर्मचारी छन् भन्ने हो ।  

कुनै एउटा कम्पनीमा छिरेर हेर्ने हो भने त्यहाँ विभिन्न किसिमका कर्मचारीहरु पाइन्छन् । कोही प्रमोशन नभएर दु.खी भएका, कोही जिम्मेवारी नपाएर दु.खी भएका, कोही सिनियर कर्मचारीको व्यवहारले दु.खी भएका, कोही समय र पैसाका कारणले दु.खी भएका, अनेकौ समस्या भएका मानिस भेटिन्छन् । आखिर किन यी समस्यामा कर्मचारीहरु परिरहेका छन् ? 

एक अध्ययनका अनुसार ५८ प्रतिशत कर्मचारी संस्थाको दायीत्व हुन् भन्ने देखिएको छ । ५८ प्रतिशत भित्र पर्ने कि ४२ प्रतिशतभित्र पर्ने, रोजाई तपाईकै हो ।  यदि ५८ प्रतिशत भित्र परियो भने माथिका कारणले पिरोलिरहन्छ । 

हिजोको दिनमा ग्राहक पहिला(कस्टमर इज फ्रस्ट) भन्ने थियो, तर आज कर्मचारी पहिला(इम्प्लोई इज फ्रस्ट) भन्न थालिसकिएको छ । कर्मचारीले चाह्यो भने जस्तो कठिन परिस्थितिमा पनि दिएको जिम्मेवारी पूूरा गर्नसक्छ । 

तपाईको प्रभाव र तपाईको स्वभाव नै त्यो कामसित जोडिएको हुन्छ । हाम्रो बानी अध्ययन गर्देनौ अनि अर्काले भनेको र सुनेको कुरामा बिश्वास गर्दछौ र त्यही कुराहरुलाई नै जानकारीमा राखी अरुलाई भन्ने काम गर्ने गर्दछौ । उदाहरणका लागि बिश्वकै जलस्रोतको दोस्रो धनी देश नेपाल हामी सबैलाई थाहा छ, तर पहिलो हुने देशको भन्दा कतिले कमी छ र हाम्रो देशमा पानी कति छ भन्ने धेरैलाई थाहा छैन । त्यसैले अर्काले भनेको कुरा सुन्ने र आफूूले बिश्लेषण नगर्ने स्वभाव बदल्न आबश्यक छ । सुनेको कुरालाई अध्ययन गर्दै अरुलाई पनि पूूरा र साचो सूूचना प्रवाह गर्दै आफूूलाई सफल असल कर्मचारीको रुपमा अगाडि बढाउने केही तरिकाहरु उल्लेख गरेको छु । 
  
 १.आफूले के गरेँ भनी खोज्नुहोस्
कुनै एउटा कम्पनीमा अति मिल्ने दुईजना साथीहरुले एउटै पदमा जागिर खान सुरु गरेछन् । उनीहरु खाजा पनि सँगै खाने, बिदाको दिन पनि सँगै घुम्ने, बस्ने गर्दा रहेछन् । यसैगरी ७–८ बर्ष बितेछ । त्यो बीचमा एउटा साथीको दुुईपटक प्रमोशन भइसकेको रहेछ र दोस्रो साथीलाई रीस उठेछ र मनमनै सोचेछ–बोसले पक्षपात गर्यो, अब म राजीनामा दिन्छु । राजीनामा लेखेर बोसकहाँ पुगेर राजीनामा दिएर भनेछ–अब म यो जागीर छोड्छु, मेरो साथी र मसँगै कार्यालय आउँछौ, सँगै जान्छौ, दिनभर मेहनतका साथ काम गर्छौ, तर उ प्रमोशन हुने म चाहि भइँन । मेरो यहाँ कोही पनि भनसुन गर्ने पनि छैन र मेहनतले काम गरे प्रमोशन भएन अब म जागिर छोड्छु । अनि बोशले मुसुक्क हाँस्दै भनेछन्–‘ठिक छ छोड्छौ भने मेरो केही पनि भन्नु छैन, तर जाने बेलामा एउटा काम गरेर जाउ । बोशले भनेपछि उसले सहमति जनायो र अलि पर देखाउँदै बोशले भनेछ–त्यहाँ गएर त्यो फलफूूल पसलमा गएर दिनमा कति केजी स्याउ बेच्दा रहेछन् सोधेर आउ । उ पनि गएछ र आएर भनेछ–सर दिनमा १५ के.जी जति बेच्दा रहेछन् । त्यसपछि बोशले उसलाई कुर्सीमा बस्न आग्रह गरेछन् र अर्को साथीलाई बोलाई त्यही काम लगाएछन् र उसले पनि त्यही पसलमा गएर सोधेर आएछ र बोशलाई भने छ–सर दिनमा १५ के.जी जती स्याउ बेच्दो रहेछ र एक केजीमा २० रुपैयाँका दरले दिनमा ३०० रुपैयाँ कमाउँदो रहेछ र त्यो नाफा उसले छोराछोरीको पढाइमा खर्च गर्दो रहेछ । बोशको आज्ञा लिएर उ बाहिरिएछ । त्यसपछि पहिलो कर्मचारीलाई सम्झाउँदै बोसले भनेछ–देख्यौ तिमी र उसमा यही फरक छ, तिमी जे भन्यो, त्यही मात्र गर्छौ, उसलाई केही भन्यो भने त्योसित सम्बन्धित सम्पूर्ण काम गर्छ, त्यही भएर उ प्रमोशन भयो । बोसको कुरा सुनेपछि उ लाजले भुतुक्क भएछ र राजीनामा फिर्ता लिई फेरी काममा फर्किएछ । तसर्थ समय दिएकै छु, काम नठगी गरेको छु भनेर मात्र हुँदैन, समयसँगै आफ्नो काम गर्ने शैली समेत बदल्नुपर्छ, समग्रमा आफूलाई बदल्नुुपर्छ ।

२.समस्यामा समाधान खोज्ने बानी

मनिसहरु पहिला केही कुरा सुन्ने बित्तिकै प्रतिक्रिया दिइहाल्छन्, यो त यस्तो हो, त्यहाँ पनि कुरा आएको थियो, यसबाट केही हुँदैन, समयको बर्बादी हो भन्ने जस्ता शब्दहरु उच्चारण गरिहाल्छौ । त्यसलाई राम्ररी सुनेर, त्यसको बारेमा सोचेर बोल्ने मानिसको खडेरी छ, समाधानबिना समस्या हँुदैन भन्ने कमैले बिश्वास लिन्छन् । एउटा ईन्टरनेट कम्पनीले आफ्नो व्यबसाय बिस्तार गर्ने सोचका साथ दुईजना कर्मचारीलाई बोलाई कुन–कुन क्षेत्रमा हाम्रो पहुँच छ र कुन–कुन क्षेत्रमा हाम्रो पहँुच छैन, त्यसको रिपोर्ट मागेछन् र रिपोर्ट हेरेपछि पहँुच नभएको क्षेत्रमा दुई जना कर्मचारीलाई त्यस क्षेत्रको अध्ययनका लागि पठाएछन् र केही दिनपछि दुबैको रिपोर्ट बोशले हेरेछन् र एउटा कर्मचारीले त्यस ठाउँमा अन्य कुनै पनि सेवा प्रदायक नभएको, बस्ती बाक्लो रहेको र त्यस ठाउँमा ब्यबसाय बिस्तार गर्दा छिटो नै नाफामा जाने रिपोर्ट बुझाएछन् । र अनि अर्को कर्मचारीले त्यहाँ अहिलेसम्म कसैले पनि ईन्टरनेट नचलाएको, मान्छेहरु अशिक्षित रहेको, बसाई पनि ब्यबस्थित नरहेको र त्यहाँ ब्यबसाय बिस्तार गर्न गाह्रो छ । गर्यो भने पनि नाफामा आउन धेरै समय लाग्छ भन्ने रिपोर्ट दिएछ, अब सोच्नुहोस् तपाई कुनमा पर्नुहुन्छ समाधानमा पनि समस्या की समस्यामा पनि समाधान सोच्ने ब्यक्ति ?

३.आफ्नो लक्ष्यमा ध्यान
एउटा बिद्यालयमा एउटा बिद्यार्थी सधै बिद्यालय आएपछि सधै प्रिन्सिपलसँग गुनासो गर्दो रहेछ–सर हाम्रो बिद्यालयमा स्वीमुङ पुल छैन, सुन्दर बगैचा छैन, क्रिकेट स्टेडीयम छैन, कम्प्युटर ल्याब छैन, यस्तो बिद्यालयमा हामी कसरी पढन सक्छौ ? यो सबै चिजको ब्यवस्था गर्न पर्यो । प्रिन्सिपलले ‘बाबु यी सबै कुरासँग तिमीलाई के मतलब ? हाम्रा शिक्षकरु सबै राम्रा हुनुहुन्छ, आ–आफ्नोे बिषयमा राम्रो दख्खल राख्नुहुन्छ । अहिले तिमी पढ्ने बेला हो, अरु कुरामा ध्यान नदेऊ । पढाईमा ध्यान देऊ’ भन्दा रहेछन् ।’ अर्को दिन आएर फेरी त्यही सुरु गर्दो रहेछ । प्रिन्सिपललाई वाक्क लागेछ र भनेछन्–‘बाबु तिमी १० मिनेटमा यो बिद्यालय २ फन्को लगाएर आउ, म तिमीले भनेको कुरा बिद्यालय ब्यबस्थापन समितिमा राखेर पूूरा गर्न कोशिश गर्नेछु ।’ उसले सहजै स्वीकार गरी मनमनै आजै प्रिन्सिपल सर फस्नुभयो भनेछ र आफ्नो दौड सुरु गरेछ । १० मिनेटमा २ पटक घुमेर आएपछि उसले प्रिन्सिपल सरलाई भनेछ–‘सर मैले हजुरले भनेको कुरा पूूरा गरेँ, अब मेरो कुरा पूरा गरिदिनुहोस् ।’ त्यसपछि प्रिन्सिपलले भनेछन्–‘बाबु तिमी यो बिद्यालय दुईपटक फन्को मार्दा कस–कसलाई भेटयौ ?’ विद्यार्थीले भनेछ–‘१० मिनेटमा दुईपटक गर्नुपथ्र्यो, त्यसैले कसैको याद गरिँन सर ।’ प्रिन्सिपलले फेरि सोधेछन्–‘बाबु अरु के के देख्यौं त बिद्यालयको वरिपरि ?’ विद्यार्थीले भनेछ–‘सर आज त १० मिनेटमा पार गर्नुुपर्ने भएर केही पनि देखिँन । खाली १० मिनेटमा दुईपटक पार गर्ने बारेमा मात्र सोचेर दौडिएँ ।’ त्यसपछि प्रिन्सिपलले सम्झाउँदै भनेछन्–‘हो जब मान्छेको लक्ष्य निर्धारित हुन्छ, उसले दायाबाया, अगाडिपछाडि केही हेर्दैन । खाली आफ्नो लक्ष्यमा केन्द्रीत हुन्छ र आफ्नो लक्ष्यमात्रै ध्यान दिन्छ । त्यसरी नै तिमीले आफ्नो लक्ष्य पढाईमा केन्द्रीत गरेका छैनौ, जब तिमी तिम्रो लक्ष्य पढ्नुपर्छ भन्ने हुन्छ नि, तिमीले अरु कुरामा ध्यान नै नदिई पढ्न सुरु गर्छौ । जसरी दौडदा को आयो, को गयो, वरिपरि के छ भनेर ध्यान नदिई दौडियौं । प्रिन्सिपलको कुरा सुनेर विद्यार्थी लाजले भुतुक्कै भएछ र आफ्नो लक्ष्यमा केन्द्रीत हुने प्रण गरेछ । हो, यसैगरी, जब हाम्रो लक्ष्य निर्धारित हुन्छ, हामीलाई लक्ष्य पूूरा गर्न कसैले पनि रोक्न सक्दैन । तसर्थ लक्ष्यलाई अर्जुनदृष्टि बनाएर अगाडि बढ्ने मानिसहरु जागिरमा समेत अब्बल र सफल मानिन्छन् । पढाई, व्यवसाय वा जस्तोसुकै काममा समेत यस्ता व्यक्तिहरु सफल भएरै छाड्छन् ।
(लेखक बैंकर हुन् )