-सन्दीप पौडेल
सेयरबजारमा गरिने लगानीमा प्रतिफल सामान्यतया बैंकमा राखिने सामान्य निक्षेप र मुद्धतीमा भन्दा धेरै बढी हुने गर्दछ । तर सेयरमा जोखिम पनि अधिक हुने गर्छ र प्रतिफलको पनि कुनै ग्यारेन्टी हुँदैन । तर, जानेबुझेर लगानी गर्ने हो भने सेयरबाट फाइदा भने अवश्य हुन्छ । लगानीकर्ताहरुले कम्पनी छनौट गर्दा धेरै पक्षहरुमा ध्यान दिनु आवश्यक रहेको छ, जसकारण कम्पाउण्ड रिटर्न राम्रो आउँछ अर्थात प्रतिफल अपेक्षा अनुसार सन्तोषजनक हुनेछ । तर यथार्थमा हेर्ने हो भने धेरै लगानीकर्ताहरुले आशा गरे अनुसार सेयरबाट नाफा आर्जन गर्न सकेका छैनन् र यसको प्रमुख कारण केही निश्चित पक्षहरुमा ध्यान नदिनु हुनसक्छ, जुन कुराहरु यस्ता छन् ।

१.लगानीयोग्य पूँजीको क्षेत्रगत विभाजन
पब्लिक कम्पनीहरुको सेयर खरिद गर्दा लगानी गर्ने पुँजीको क्षेत्रगत बिभाजन गर्न अत्यन्तै महत्वपूर्ण छ । जस्तै बैंकिङ क्षेत्रमा ४५ प्रतिशत, बिमा क्षेत्रमा २५प्रतिशत , लघुबित्तमा १० प्रतिशत, हाइड्रोमा १० प्रतिशत र अन्य क्षेत्रमा १० प्रतिशत लगानी गरी आफ्नो समग्र पोर्टफोलियो विविधिकरण गर्नुको साथै जोखिम कम गरी गतिलो रिटर्न पाउन सकिन्छ । 

२.विकासमा सम्भाव्य भएको कम्पनीमा लगानी । 
पुँजीकोषमा सानो, तर ब्यवसायिक विकासमा अधिक सम्भावना बोकेको कम्पनीमा लगानी गर्दा निकट भविष्यमा निकै राम्रो रिटर्न पाउन सकिन्छ । आर्थिक विकासको तीव्र गतिसँगै व्यवसायिक क्षेत्रमा सम्भाव्यता म्याक्रो र माइक्रो भेञ्चरमा लगानी गर्दा  दीर्घकालीन समयावधिसँगै लगानीमा उच्च प्रतिफल पाउन सकिन्छ । 

३.बजार बिस्तारलाई प्राथमिकता दिने र बजारमा पकड भएका कम्पनीमा लगानी गर्ने । 
कुनै पनि ब्यवसायमा सेवा वा बस्तु बिस्तारको महत्त्वपूर्ण भूमिका हुने गर्दछ । ब्यवसाय सञ्चालनमा बजारीकरण फस्टाएन भने सेवा जतिसुकै लाभदायक भए पनि ब्यवसाय दीर्घकालीन नहुन सक्छ, जसले लगानीमा जोखिम निम्त्याउँछ । त्यसैले बजारमा पकड भएका र बजार बिस्तारलाई प्राथमिकतामा राख्ने कम्पनी छनोट गर्दा उपयुक्त हुन्छ ।

४.ROA ( Return on Assets ) र ROE (Return on Equity ) धेरै भएका र निरन्तर बढिरहेका कम्पनीमा लगानी ।
बित्तीय विश्लेषणमा ROA र ROE दुई महत्त्वपूर्ण सुचक मानिन्छ जसले सम्पत्ति र सेयर अंशमा प्रतिफलको मूल्यांकन गर्दछ । यी दुई सूचक बढी भएका र क्रमिक रुपमा बढिरहेका कम्पनीमा लगानी गर्दा कम जोखिम हुने र लगानीमा गतिलो रिटर्न पाउन सकिन्छ ।

५.Competitive Advantage भएका कम्पनीमा लगानी।
ब्यवसायमा प्रतिस्पर्धा हुनु भनेको चुनौतिको सामना गर्नु हो । त्यसैले धेरै प्रतिस्पर्धा भएका कम्पनीहरुमा लगानी गर्दा त्यति लाभदायक नहुन सक्छ । जुन क्षेत्रमा बढी प्रतिस्पर्धा हुने गर्छ त्यस क्षेत्रका कम्पनीहरुको future prospect त्यति राम्रो नहुने अनुमान लगाउन सकिन्छ । त्यसकारण कम प्रतिस्पर्धा भएका र future prospect राम्रो भएका कम्पनीमा लगानी गर्दा राम्रो रिटर्न प्राप्त गर्न सकिन्छ ।

६.नियमित लाभांश नबाँडी नाफाको अधिक हिस्सा रिजर्भमा सञ्चित गर्ने कम्पनीमा लगानी ।
बिश्वको टप कम्पनीमा पर्ने बर्कसायर हाथवेका प्रमुख कार्यकारी अधिकृत तथा सेयरबजारको बादशाह वारेन बफेटले आफ्नो कम्पनीको नाफाको अधिक हिस्सा बार्षिक रुपमा लाभांश नबाँडी reserve fund लार्इ झनै बलियो बनाउने कुरामा जोड दिन्छन् । उनको मान्यता अनुसार जति reserve & surplus बलियो हुन्छ, त्यति नै लगानीकर्ताहरु सो कम्पनीमा बढी आकर्षित हुन्छन् र क्रमिक समय पश्चात् मनग्य लाभांश बाड्ने कुरामा जोड दिन्छन् । त्यही भएर लगानीकर्ताहरुले यस्ता कम्पनीहरुमा लगानी गर्दा दीर्घकालीन समयावधिमा सोचे जस्तै रिटर्न पाउन सकिन्छ । 
(लेखक सेयरबजारका युवा लगानीककर्ता हुन् ।)