काठमाण्डौ । बैंकहरुले विभिन्न स्वदेशी परियोजनामा कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। 

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो व्यवस्था रहेको जानकारी गराएको हो। फलफूल एवं जडीबुटी उत्पादन तथा स्वेदशमा उत्पादित फलफूल एवं जडीबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। 

उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह हुँदा उद्यमशीलता प्रवर्द्ध हुने, रोजगारी सिर्जना हुने, उत्पादन बढ्ने, आयात प्रतिस्थापन गर्न सहयोग पुग्नजस्ता सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्दछ र यसले गरिबी न्यूनीकरणका साथै समग्र आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। 

यदि यस किसिमको कर्जा कसैले लिएका छन् वा लिँदै छन् र यो व्यवस्थाको पालना भएको छैन भने कर्जा लिएको संस्थामा वा नेपाल राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाइमा गुनासो दर्ता गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।