काठमाण्डौ । केही समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलता स्थिर रहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा अधिक तरलता १७ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। ‘यो तरलता केही सातादेखि भने स्थिर रहेको छ’, राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले भने, ‘अहिले तरलता कुनै हालतमा अभाव छैन, सहज नै छ।’ 

अहिले विभिन्न समाचारमा आएजसरी तरलता चर्किहालेको अवस्था नरहेको पोखरेलले स्पष्ट पारे। ‘तरलता व्यवस्थापनका लागि राष्ट्र बैंक सचेत छ, आवश्यमात्रमा रिपो पनि जारी गरिरहेको छ’, उनले भने। 

बैंकहरुले डिबेन्चर जारी गरेर वा अन्य उपायबाट पनि निक्षेप बढाउन सक्ने पोखरेलको भनाइ छ। ‘अहिले कर्जा विस्तार बढेसँगै सीडी रेसियो टाइट हुँदै गएको हो तर ब्याजदर बढिहाल्ने अवस्था छैन’, उनले भने। 

पोखरेलले बैंकहरुले नै कस्ट अफ फन्ड बढ्ने डरले ब्याजदर नबढाएको पनि बताए। 

राष्ट्र बैंकका अनुसार हाल अन्तरबैंकिङ ब्याजदर ४.८ प्रतिशत र सीडी रेसियो ८७.४५ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुले ४६ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४२ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। जसमा वाणिज्य बैंकहरुले ४१ खर्ब ३२ अर्ब निक्षेप संकलन गरेर ३८ खर्ब २९ कर्जा परिचालन गरेका छन्।

पोखरेलले शोधान्तर बचतको अवस्था पनि सामान्य नै रहेको बताए। अत्यावश्यक वस्तु खरिद गर्नुपर्दा शोधान्तर तलमाथि हुनु सामान्य नै रहेको उनको तर्क छ।