काठमाण्डौ । छवटा बैंक तथा बित्तीय संस्थाबीचको ऐतिहासिक मर्जरबाट कुमारी बैंकले हात झिकेको छ । स्वाप रेसियो, संचालक समितिमा प्रतिनिधित्व, सीइओ लगायतका बिषयमा लफडा भएपछि कुमारी बैंकका संचालकहरुले पूर्व योजनाअनुसार नै विशेष साधारणसभा बोलाई एनसीसी लगायतका अन्य चार विकास बैंकसँग मर्जरमा जाने प्रक्रियाबाट हात झिकेको हो । 

शुक्रबारको  विशेष साधारणसभामा मर्जरको प्रस्ताब टेबल हुने बित्तिकै त्यसविरुद्ध होहल्ला र हुटिङ भएको थियो । त्यसपछि साधारणसभाले मत विभाजनबाट निर्णय लिने निर्ण गरेसँगै एनसीसी लगायतका बैंकसँग मर्जरमा जाने स्वीकृति प्राप्त नभएको हो । अर्थात, ५० प्रतिशत भन्दा बढी सदस्यले मर्जरमा नजाने भन्दै मत खसालेका कुमारी बैंकका एक संचालकले जानकारी दिए । 

कुमारी बैंकका संचालकहरुले राष्ट्रबैंकको दवाब भए पनि त्यसको आधारमा आफ्ना माग पूरा नभई मर्जरमा नजाने अडान लिंदै आएका थिए । कुमारी बैंकले मर्जरको क्रममा धेरै बँुदामा असहमति समेत जनाएको थियो । उसले मुख्य रुपमा सेयर स्वाप रेसियो, नयाँ बन्ने बैंकको नेतृत्व गर्न पाउनुपर्ने, सीइओमा आफ्नो पात्र हुनुपर्ने लगायतका बिषयमा लफडा गर्दै आएको थियो । भागबण्डामा कुरा नमिलकै कारण कुमारी मर्जरबाट बाहिरिएको हो । 

डिडिएको क्रममा एनसीसी बैंकको स्वाप रेसियो १०० हुँदा कुमारीको ९८ रुपैयाँ निर्धारण गरिएको थियो । कुमारीले योप्रति असहमति जनाएपछि दुवै वाणिज्य बैंकको सेयर स्वप रेसियो १०० बनाइएको थियो । तर कुमारीका धेरै सेयर भएका संचालकले एनसीसीको १०० रुपैयाँ हुँदा आफ्नो बैंकको सेयर स्वाप रेसियो ११० रुपैयाँ हुनुपर्ने माग गर्दै आएका थिए । 

यसैबीच, शुक्रबारकै विशेष साधारणसभाले राष्ट्रबैंकले तोकेको पूँजी पुर्याउन अन्य कुनै साझेदार बित्तीय संस्था खोज्ने जिम्मा संचालक समितिलाई नै दिने निर्णय पनि गरेको छ । कुमारीको संचालक समितिका बहुसंख्यक सदस्य मर्जरको पक्षमा थिए । तर मर्जरको प्रस्ताव साधारणसभाबाटै पारित हुनुपर्ने भएकोले धेरै सेयर हुनेहरुले योजनाबद्ध ढंगले ऐतिहासिक मर्जरमा भाँजो हालेका एक सदस्यले आरोप लगाएका छन् । 

६ संस्था मर्जर समितिका एक सदस्यका अनुसार कुमारी बैंक अलग भए पनि बाँकी सबै संस्थामा कुनै समस्या नभएको र अन्तिम स्वीकृतिका लागि राष्ट्रबैंकमा निवेदन दिने तयारी भइरहेको छ ।