काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनासम्मको देशको आर्थिक तथा वित्तीय स्थितिको समीक्षा सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.२१ प्रतिशत रहेको छ । तीन महिनाको औसत मुद्रास्फीति ६.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.६८ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ असोजमा यी क्षेत्रहरुमा क्रमशः ४.०४ प्रतिशत, ४.३४ प्रतिशत, ६.१० प्रतिशत र ४.२४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
आयात १०.३ प्रतिशतले घटेको छ भने निर्यात १४.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १६.१ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३.६ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु.२३० अर्ब २४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.६ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा चालु खाता घाटा रु.२७ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.८१ अर्ब ७४ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१४ अर्ब ४३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३५ अर्ब ४२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको तीन महिनासम्ममा ३१ करोड ६२ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १२ करोड ७८ लाखले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको रु.१०३८ अर्ब ९२ करोडबाट ४.७ प्रतिशतले वृद्धि भई २०७६ असोज मसान्तमा रु.१०८७ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ असोज मसान्तमा ९ अर्ब ५४ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७६/७७ को तीन महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.४६ अर्ब ३८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु.३२ अर्ब ८३ करोडले बचतमा रहेको थियो ।
संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु. १७२ अर्ब ३३ करोड र राजस्व परिचालन रु.२११ अर्ब २८ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१७० अर्ब ९५ करोड रहेको थियो।
विस्तृत मुद्राप्रदाय ३.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १५.४ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.० प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ४.३ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १८.६ प्रतिशत र कर्जाको वृद्धिदर १६.२ प्रतिशत रहेको छ ।
२०७५ असोजमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर १.७७ प्रतिशत रहेकोमा २०७६ असोजमा ४.३३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ असोजको १.८६ प्रतिशतको तुलनामा २०७६ असोजमा ४.६२ प्रतिशत कायम भएको छ ।
वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ असोजको १०.२३ प्रतिशतको तुलनामा २०७६ असोजमा ९.५६ प्रतिशत कायम भएको छ । २०७६ असोजमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.९८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.५७ प्रतिशत र १२.२६ प्रतिशत रहेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago