काठमाण्डौ । नयाँ आर्थिक वर्ष सुरु भएकै दिन नेपाल राष्ट्रबैंकले गत आर्थिक वर्षको ११ महिनाको देशको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ । 

जेठ मसान्तसम्मको अवस्था हेर्दा कोभिड १९ का कारण देशको आर्थिक तथा वित्तीय अवस्थामा धेरै ठूलो प्रभाव नपरेको देखिएको छ ।

जस्तो धेरै घट्छ भनिएको विप्रेषण आप्रवाह ३ प्रतिशतले मात्र घटेको छ । जब कि बैशाख मसान्तसम्ममा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घटेको थियो । यसरी हेर्दा विप्रेषणको घट्ने दरमा सुधार हुन थालेको देखिएको छ । 

लकडाउन खुकुलो भई बजारमा चहलपहल बढ्न थालेसँगै उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिति पनि घटेर ४.५४ प्रतिशत कायम भएको छ । एघार महिनाको औसत मुद्रास्फिति ६.२८ प्रतिशत रहेको छ । बैशाखसम्ममा वाार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.८३ प्रतिशत र दश महिनाको औसत मुद्रास्फीति ६.४६ प्रतिशत रहेको थियो । 

जेठ मसान्तसम्ममा आयात १५.३ प्रतिशतले घटेको छ भने निर्यात ०.२ प्रतिशतले बढेको छ । बैशाख मसान्तसम्ममा आयात १३.० प्रतिशतले घटेको थियो भने निर्यात ४.५ प्रतिशतले बढेको थियो । यसरी हेर्दा बैशाखको तुलनामा जेठमा आयात अझै घटेको देखिएको छ भने निर्यात पनि घटेकै देखिएको छ । 

बैशाख मसान्तसम्म १२० अर्ब ९० करोडले बचतमा रहेको शोधानान्तर स्थिति जेठ मसान्तसम्म रु. १७९ अर्ब ३७ करोडले बचतमा छ । 

जेठ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिती १० अर्ब ७० करोड अमेरिकी डलर रहेको छ । यो सञ्चितीले ११.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ । बैशाखसम्ममा कुल विदेशी विनिमय सञ्चिति १० अर्ब २५ करोड अमेरिकी डलर रहेको थियो । 

जेठ मसान्तसम्ममा संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु.८४३ अर्ब ९४ करोड र राजस्व परिचालन रु.६४७ अर्ब ८० करोड  रहेको छ । यस्तै, विस्तृत मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १७.५ प्रतिशतले बढेको राष्टबैंकले जनाएको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.३ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा १०.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १८.१ प्रतिशत र कर्जाको वृद्धिदर ११.९ प्रतिशत रहेको छ ।

बैशाख मसान्तसम्ममा संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु.७२५ अर्ब ६१ करोड र राजस्व परिचालन रु.६०६ अर्ब ८२ करोड थियो । यस्तै, विस्तृत मुद्राप्रदाय १०.५ प्रतिशतले बढेको थियो र वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको थियो । 

बैशाखसम्म  बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ११.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.३ प्रतिशत र कर्जाको वृद्धिदर १३.२ प्रतिशत थियो ।