काठमाण्डौ । एनआइसी एशिया बैंकले तीन महिनाअघि सार्वजनिक गरेको मुद्धती निक्षेपमा १२ प्रतिशत ब्याज पाउने धनवर्षा मुद्धती योजना ब्यूँताउने निर्णय आइतबार साँझ अकस्मात सार्वजनिक भएको छ । यही मुद्धती निक्षेपको अफरका कारण तीन महिनाअघि बबाल मच्चिएर अनेकन लफडा भोगेको बैंकले फेरि त्यही योजना उही ब्याजदरसहित किन ल्याएको होला ? धेरैका कान ठाडा र आँखा चनाखो भए । 

धेरैलाई थाहा नहुन सक्ला एनआइसी एशियाले यसपटक १२ प्रतिशत ब्याजसहितको योजना ल्याउँदा विवाद हुने छैन । कारण, यसपटक नेपाल बैंकर्स संघले कुनै विरोध जनाउने छैन भने अन्य वाणिज्य बैंकहरु समेत यो विषयमा मौन नै बस्नेछन् । किनभने नेपाल बैंकर संघले सदस्य बैंकहरुका बीचमा ब्याजदरका सम्बन्धमा यसअघि भएको सम्झौता खारेज गर्ने निर्णय गरिसकेको छ । यही निर्णयसँगै एनआइसीले समेत निर्धक्क भएर १२ प्रतिशत ब्याजसहितको यो अफर सार्वजनिक गरेको देखिएको छ । 

नेपाल बैंकर्स संघले यसअघि मुद्धती निक्षेपमा अधिकतम ११ र साधारण बचतमा अधिकतम ८ प्रतिशत ब्याज दिन सकिने भद्र सहमति गरेको थियो । करिब तीन महिनाअघि यही सहमति तोडेर एनआइसी एशियाले १२ प्रतिशत ब्याजदरसहितको मुद्धती निक्षेप योजना सार्वजनिक गरेपछि निकै ठूलो लफडा भएको थियो । बैंकर्स संघले एनआइसीको यही स्किमका कारण उसलाई केही दिनसम्म अन्तरबैंक कारोबारमा समेत सहभागी गराएको थिएन । तर, पछि एनआइसीले यो अफर नै स्थगन गरेपछि त्यसबेलाको लफडा मिलेको थियो । 

बैंकर्स संघस्थित उच्च स्रोतका अनुसार पहिलाको समझदारी खारेजीसँगै वाणिज्य बैंकहरुले आफ्नो आवश्यक्ता अनुसार नयाँ ब्याजदर सार्वजनिक गर्ने स्वतन्त्रता पाएका छन् । यही स्वतन्त्रतालाई निकै छिटो सदुपयोग गर्दै एनआइसी एशियाले ग्राहकमाझ निकै लोकप्रिय आफ्नो पुरानै स्किमलाई ब्यूँताउने निर्णय गरेको देखिएको छ । 

त्यसो त बैंकर्स संघले कायम गरेको सहमतिलाई नवील बैंक र बैंक अफ काठमाण्डूले समेत उल्लंघन गरेका थिए । उनीहरुले घुमाउरो ढंगले साढे १२ प्रतिशतसम्म ब्याज अफर गरेपछि त्यस बिषयमा समेत तीव्र विवाद भएको थियो । ब्याजदरकै कारण संघमा आबद्ध बैंकहरुका बीचमा मतभेद भएपछि नेपाल राष्ट्र बैंकले बैंकहरुको निक्षेपको भारित औसत व्याजदर ६.६ प्रतिशत रहेको तथ्य सहित ५ प्रतिशतको स्प्रेडदर जोड्दा बैंकहरु ११.६ प्रतिशतभन्दा माथिल्लो विन्दुको कर्जाको ब्याजदरमा जान नसक्ने भन्दै सोही अनुसार गर्न दवाब दिएको थियो । ब्याजदरमा कडाई गर्न केन्द्रीय बैंक तातेपछि नेपाल बैंकर्स संघले आफूहरुबीचको सहमतिको कुनै अर्थ नभएको निश्कर्ष निकालेको बताएको छ । 

त्यसो त आर्थिक वर्षको अन्तिम त्रैमास भएकोले यो बेला सरकारी खर्च समेत अत्यधिक भइरहेको छ । यसले बैंकहरुमा तरलताको अवस्था निकै सहज भएको बैंकरहरुको निश्कर्ष छ । यस्तो अवस्थामा जुन बैंकलाई जस्तो आवश्यकता छ, सोही अनुसार अगाडि बढ्ने छुट हुने भएकोले समेत एनआइसी एशिया ग्राहकहरुलाई बढी भन्दा बढी ब्याज दिन यसरी हौसिएको हो । तर, यो बैंकले यो अफरलाई त्यति धेरै दिनसम्म निरन्तर गर्नसक्ने संभावना भने देखिन्न । यसकारण ढुक्कले १२ प्रतिशत रिटर्न चाहने लगानीकर्ताले यो स्किममा पैसा हाल्दा फरक पर्नेछैन ।