 
                     
                                
                             
                                    – रेखा चन्द
काठमाण्डौ । कृषि विकास बैंकको खराब कर्जा अनुपात (एनपीएल) अत्याशलाग्दो स्थितिमा पुगेको छ। एक वर्षको अन्तरालमा बैंकको खराब कर्जा डबल अंकले बढेर ४ प्रतिशत माथि पुगेको हो।
गत आर्थिक वर्षको दोेस्रो त्रैमासमा २.०८ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा ह्वात्तै बढेर ४.५२ प्रतिशत पुगेको छ। बैंकको यो खराब कर्जा अन्य बैंककहरुको तु्लनामा सबैभन्दा उच्च हो।
बैंकले यो अवधिमा १२ अर्ब घाटासमेत व्यहोर्नुपरेको छ। यतिमात्रै नभएर बैंकको खुद ब्याज आम्दानीमा संकुचन आएको छ भने ११ करोड १५ करोड रुपैयाँ सञ्चालन घाटा छ। यस्तै ईपीएस पनि ४.४३ रुपैयाँले ऋणात्मक छ।
लामो समय लगानीयोग्य रकम अभाव, कोभिड–१९को प्रभाव तथा ऋणीहरुले समेत समयमा कर्जा तथा ब्याज भुक्तानी नगर्दा बैंकको समग्र वित्तीय स्वास्थ्यमाथि प्रभाव परेको देखिएको छ। कर्जा नोक्सानीबापत प्रोभिजन छुट्याउँदा पनि बैंक घाटामा जानुका साथै खराब कर्जा पनि बढेको हो।
त्यसो त चालु आर्थिक वर्षको पहिलो त्रैमासमै कृषि विकास बैंकसहित अधिकांश बैंकको खराब कर्जा बढेकै अवस्थामा थियो। यसैबीचमा उद्योगी–व्यवसायीले पुसमा कर्जा तिर्न नसक्ने भन्दै नेपाल राष्ट्र बैंकलगायतका विभिन्न निकायसम्म धाएका थिए। जसले गर्दा बैंकले लक्ष्यअनुरुप कर्जाको साँवा तथा ब्याज उठाउन नसक्दा खराब कर्जा बढेको देखिएको छ।
त्यसैगरी नाफा कमाउने होडमा बैंकहरुले आक्रामक कर्जा प्रवाह गर्दा पनि खराब कर्जा बढ्ने गर्दछ।
समीक्षा अवधिमा कृषि विकास बैंकपछि हिमालयन बैंकको खराब कर्जा ३.७७ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाको ३.७१ प्रतिशत, सनराइजको ३.३६ प्रतिशत, कुमारीको ३.१५ प्रतिशत र नेपाल बैंकको ३.११ प्रतिशत रहेको छ।
राष्ट्र बैंकले बैंकहरुलाई खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा तल राख्नुपर्ने व्यवस्था गरेको छ। त्यस्ता कर्जा ५ प्रतिशतभन्दा बढी भएमा जोखिम मानिन्छ।
उक्त जोखिम नजिक कृषि विकास बैंक पुग्न लागेको देखिन्छ। त्यसकारण यो बैंकलाई समयमै एनपीएल घटाउनुपर्ने बाध्यता छ। तोकिएको समयमा साँवा तथा ब्याज नतिर्दा ऋणीले लिएको ऋणलाई बैंकहरुले खराब कर्जाअन्तर्गतमा राख्नुपर्ने हुन्छ।
राष्ट्र बैंकले बैंकहरुले प्रवाह गरेको कर्जालाई वर्गीकरण गरी प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ। जसमा बैंकहरुले कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरिएको छ।
ऋणीले १ महिनादेखि ३ महिनासम्म कर्जाको साँवा तथा ब्याज भुक्तानी नगरेमा बैंकहरुले त्यस्तो कर्जालाई ‘वाचलिस्ट’मा राखी कर्जाको ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने प्रावधान छ। त्यसैगरी, ३ महिनादेखि ६ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई ‘कमसल’ मा कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ।
६ महिनादेखि १ वर्षसम्म पनि साँवा–ब्याज भुक्तानी नगरेमा बैंकहरुले त्यस्तोे कर्जालाई ‘शंकास्पद’ मा राखेर कर्जाको ५० प्रतिशत प्रोभिजन बैंकले गर्नुपर्छ भने १ वर्षभन्दा माथि साँवा–ब्याज भुक्तानी नभएमा सो कर्जालाई खराब कर्जामा राखी सतप्रतिशत प्रोभिजन गर्नुपर्नेछ।
तरलताको समस्या, कोभिड–१९ तथा उठ्नुपर्ने कर्जा तथा ब्याज समयमा नउठ्दा खराब कर्जा बढेको कृषि विकास बैंकका कामु सीईओ प्रताप सुुवेदी बताउँछन्। ‘एकातिर तरलताको समस्या भयो, उद्योगी–व्यवसायीहरुबाट सेड्युलअनुसार कर्जाको साँवा–ब्याज पनि आउन नसकेका हुनाले खराब कर्जा बढ्न गयो’, उनले भने ‘प्रोभिजन बढ्दा बैंकको नाफामा पनि असर परेको छ तर अरु हिसाबले हेर्ने हो भने हामीसक्षम छौँ।’
सुवेदीले बढेको खराब कर्जा तथा बैंकको वित्तीय अवस्था सुधार गर्नेतर्फ लागिसकेको बताए। ऋणीहरुले प्रायःजसो माघपछि क्रमशः कर्जा तथा ब्याज तिर्दै जाने हुँदा अब आगामी दिनमा बैंक सबै सूचकमा सुधार आउने उनको भनाइ छ।
बैंक सीडी रेसियोलगायतका सूचकमा अहिले पनि राम्रो अवस्थामा रहेको सुवेदीले बताए। ‘हाम्रो रणनीति बनिसकेको छ, त्यसकारण अब हामी छिटै आफ्नै लयमा फर्किन्छौँ’, उनले भने।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19