काठमाण्डौ । नेपाल राष्ट्रबैंकले तीनवटा कारण प्रस्तुत गर्दै आगामी आर्थिक परिदृश्य सुखद हुने प्रक्षेपण गरेको छ । 

चालुु आर्थिक वर्षको प्रथम चार महिनाको देशको आर्थिक तथा बित्तीय परिदृश्य प्रस्तुत गर्दै राष्ट्रबैंकले यस्तो दलिल पेश गरेका हो । 

राष्ट्रबैंकले तीनवटा सकारात्मक विकास क्रम प्रस्तुत गर्दै त्यसका आधारमा आगामी आर्थिक परिदृश्य निर्धारण हुने दाबी गरेको हो । 

राष्ट्रबैंकले तीनवटा कारण यसअनुसार प्रस्तुत गरेको छः
पहिलो,
निर्माण कार्यले गति लिएको छ । व्यक्तिगत घर, होटल तथा जलविद्युत परियोजनाहरुको निर्माण बढ्दो क्रममा रहेको छ । सिमेन्ट, आल्मोनियम बार, कोल्डरोड रोड सिट इन क्वाइल, एम.एस विलेट तथा रड जस्ता निर्माण सामग्रीहरुको आयातमा भएको वृद्धिबाट निर्माण कार्यले तीव्रता लिएको प्रतिविम्वित हुन्छ । 

दोस्रो, औद्योगिक उत्पादनको क्षेत्रमा क्रमिक सुधार भइरहेको छ । नेपाल राष्ट्र बैंकले हालै गरेको आर्थिक गतिविधि अध्ययनले पनि औद्योगिक क्षेत्रको क्षमता उपयोग बढेको देखाएको छ । यस अन्र्तगत सिमेन्ट, फलाम तथा स्टिल, जस्तापाता तथा तार जस्ता उद्योगहरुको उत्पादन उत्साहप्रद देखिन्छ । औद्योगिक कच्चापदार्थको आयात र उद्योगहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जाको विस्तारले औद्योगिक क्षेत्रको परिदृष्य सकारात्मक रहेको देखिन्छ । 

तेस्रो, पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको छ । पर्यटक आगमनसँगै होटलहरुको अकुपेन्सीदरमा भएको वृद्धि एवम् होटल निर्माण कार्यले लिएको गतिले पर्यटन क्षेत्रको सकारात्मक परिदृष्य इङ्गित गर्दछ ।