काठमाण्डौ। कोरोना संकटका कारण अहिले दैनिक ज्यालामजदुरी गरी बनिबुँतो गर्ने मानिसको दिनचर्या कठिन बनेको छ।

कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण अधिकांश मानिस घरभित्रै थुनिएका छन्। जसका कारण काम गर्न नपाएका दैनिक ज्यालामजदुरी गर्नेहरुको परिवार समस्यामा परेका छन्। 

यस्तै समस्यामा परेकाहरुलाई कतिपय ठाउँमा राहात वितरणको काम पनि भइरहेका छन्। यस्तैमा भारतीय मूलका एक व्यक्तिले केन्यामा २४ हजार परिवारको दैनिक छाक टार्न सघाइरहेका छन्। 

न्युयोर्क पोस्टका अनुसार ती भारतीय मूलका व्यक्ति हुन् पंकज साह। उनी अहिले यी सहयोगभावका कारण चर्चामा छन्।

साहले पनिले त्यस्ता परिवारलाई सहयोग गर्न अन्य मानिससँग यस विषयमा कुरा गरे। त्यसपछि तिनै मानिसहरुसँग मिलेर उनले समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्ने परिवारलाई दैनिक गर्जोको व्यवस्था गर्न थाले। 

साह पेसाले सफारी अपरेटर हुन्। उनका अनुसार मार्च १२ बाट केन्यामा कोरोनाको संक्रमण देखिएको हो। ‘त्यसपछि गरिएको लकडाउनले यहाँका गरिब जनता भोकभोकै पर्न थाले’, साहले भने, ‘त्यसपछि मैले केही साथीहरुसँग यस विषयमा कुरा गरेर र उनीहरुकै सहयोगमा गरिब परिवारलाई सहयोग गर्न थालेँ।’ 

सहयोगको यो कार्यमा संलग्न टोलीलाई स्वयंसेवकहरु ‘पंकज टिम’ भन्न रुचाउँछन्। उनीहरुले २२ मार्चदेखि त्यस्ता गरिबका घरघरमा खाना पुर्याउने काम गरिरहेका छन्। साहका अनुसार एउटा प्याकेजले कम्तीमा चारजनालाई खाना पुग्छ।

साहका अनुसार केही समयपहिले उनले नैरोबीमा मदर टेरेसालाई भेटेका थिए। त्यही बेलादेखि आफूमा दीनदुःखीको सहयोग गर्ने भावना सिर्जना भएको साह बताउँछन्। 

साहलाई एसियाका केही धनाढ्यले पनि सहयोग गरिरहेका छन्। साह अन्य दाताहरु पनि यो कार्यमा सहभागी भएमा केन्याका गाउँगाउँमा खाद्यान्न सहयोग गर्न सकिने बताउँछन्। ‘म चाहन्छु कि यहाँका कोही गरिब जनता काम नपाएकै कारण भोकै नपरुन्’, उनी भन्छन्। – एजेन्सी