काठमाण्डौ । प्रति कित्ता १६५० रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको सेयर एकसय रुपैयाँमा खरीद गर्न पाउनु एउटा ठूलै अवसर हो । हो, यस्तै अवसर पाएका छन् स्वरोजगार लघुवित्त विकास बैंकका सेयरधनीले । यो माइक्रो फाइनान्स कम्पनीले असार १ गते(आज)देखि २ बराबर १ को दरले हकप्रद सेयर निश्कासन गरेको छ ।

हकप्रदमा सेयरधनीले आगामी साउन ४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

यो कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका कुल ३ लाख ४९ हजार ९ सय ९३.६० कित्ता हकप्रद निश्कासन गरेको हो ।

यो कम्पनीको हकप्रदका लागि जेठ १७ गतेलाई बुक क्लोजको मिति तोकिएको थियो । यसको अर्थ जेठ १६ गतेसम्म स्वरोजगार लघुवित्तको हकप्रद खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

यो कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

इच्छुक सेयरधनीले नक्सालको नागपोखरीस्थित एनएमबी क्यापिटलको मुख्य कार्यालय, एनएमबी बैंकका देशभरका शाखा कार्यालय र स्वरोजगार लघुवित्तका सबै शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

हाल यो माइक्रो फाइनान्सको चुक्तापुँजी ६ करोड ९९ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि १० करोड ४९ लाखको उचाईमा पुग्नेछ ।

यो कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १६ सय ५२ रुपैयाँ रहेको छ ।

हकप्रदपछि हुने मूल्य समायोजनपछि यसको सेयरको मूल्य घट्नेछ, तर पनि यो कम्पनीको सेयर १ सय रुपैयाँमा खरीद गर्न पाउनु सेयरधनीका लागि अवसर नै हुने देखिन्छ ।