काठमाण्डौ । पक्कै जोहोको सपना भविष्य सुनौलो होस् भन्ने नै हुन्छ। आम मानिसले भविष्यमा जीवनयापन आरामदायी बनाउन निकै मेहनत गरिरहेका हुन्छन्। तर आफ्नो आम्दानीको केही हिस्सा बचत गर्ने हो भने यो सपना पक्कै पनि साकार हुनेछ। 

आफ्नो आम्दानीमध्ये सानो अंशबाट बचत गर्दा हुने प्रतिफल उमेरअनुसार फरक हुन्छ। त्यसैले जति छिटो तपाइँले आफ्नो आम्दानीको सानो अंश बचत थाल्नुहुन्छ, त्यति नै छिटो तपाइँको प्रतिफल करोडौँको हुन सक्छ। जसले तपाइँको अवकाशपछि जीवनयापन सहज बनाइदिनेछ। 

आउनुहोस् यी ३ उमेर समूहबाट सुरु गरिएको बचतको प्रतिफल हेरौँ –

यहाँ हामी तीन अलग–अलग उमेरमा एउटा समान बचत गर्दा ५८ वर्षको उमेरमा हुने सेवानिवृत्त कति पुँजी तयार हुन्छ आँकलन गरौँ। पक्कै पनि यहाँ दिइने तीन उमेर समूहमा गरिने बचत र त्यसबाट भविष्यमा निर्माण हुने पुँजीमा करोडौँको फरक पर्न सक्छ। 

अझ प्रस्ट हुन यहाँ ती उमेर समूहलाई ‘ए’, ‘बी’ र ‘सी’ मानौँ। अनि प्रत्येक उमेर समूहका व्यक्तिले हरेक महिना आफ्नो आम्दानीको ५ हजार रुपैयाँ मासिक बचत गर्दै लैजान्छन्। सबैले ५८ वर्षको हुँदासम्म यो ५ हजार रुपैयाँ मासिक बचत गर्दै जानुपर्नेछ। 

अब यसरी हेरौँ –

३५ वर्षमा २.६ करोड रुपैयाँ 
यदि तपाइँको उमेर २३ वर्ष (ए) छ। र यो उमेरबाट तपाइँले मासिक ५ हजार रुपैयाँ बचत गर्न थाल्नुभयो। यो बचतको वार्षिक११ प्रतिशत ब्याजदर आउने अनुमान गरौँ। यो हिसाबले तपाइँले ५८ वर्षसम्म लगातार बचत गर्दै जानुभयो भने ३५ वर्षपछि तपाइँको बचतको आकार २.६ करोड रुपैयाँ हुनेछ। 

३० वर्षमा १.४ करोड रुपैयाँ

अब तपाइँको उमेर २८ (बी) मनौँ। तपाइँले पनि मासिक ५ हजार रुपैयाँ बचत गर्नुहुन्छ। त्यसको वार्षिक ब्याजदर ११ प्रतिशत नै आउने मनौँ। अब तपाइँले ५८ वर्षसम्म लगातार ५ हजार बचत गर्नुभयो भने तपाइँको बचतको आकार १.४ करोड रुपैयाँ हुनेछ। यसको मतलब तपाइँले ‘ए’ को तुलनामा ५ वर्ष ढिला बचत थाल्नुभयो भने ५८ वर्षपछि तपाइँको बचतको आकार करिब १.२ करोड रुपैयाँ कम हुनेछ। 

२५ वर्षमा ८० लाख रुपैयाँ

यस्तै तपाइँको उमेर ३३ (सी) रहेको छ। तपाइँले पनि हरेक महिना ५ हजार रुपैयाँ बचत गर्नुहुन्छ। यसको पनि वार्षिक ब्याजदर ११ प्रतिशत हुन आउँछ। अब तपाइँले ५८ वर्षसम्म लगातार मासिक ५ हजार जम्मा लगातार तपाइँको बचतको आकार बढेर ८० लाख रुपैयाँ पुग्छ। तर तपाइँको बचतको आकार ‘ए’ को तुलनामा १.८ करोड रुपैयाँ र ‘बी’ को तुलनामा ६० लाख रुपैयाँ कम हुनेछ।

त्यसैले जति छिटो तपाइँले बचत गर्न थाल्नुहुनेछ, त्यति नै तपाइँ भविष्यमा चाहिने पुँजीको आकार ठूलो हुनेछ। त्यसैले बेलैमा बचत गर्ने बानी बसालौँ।