काठमाण्डौ । रुस विश्वमै सर्वाधिक अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्ने देश बनेको छ। 

युक्रेनमा आक्रमण गरेपछि सर्वाधिक अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्ने देशहरुको सूचीमा रुस शीर्ष स्थानमा पुगेको हो। 

अन्तर्राष्ट्रिय प्रतिबन्धहरुबारे अभिलेख राख्ने वेबसाइट Castellum.ai का अनुसार हाल रुसविरुद्ध कुल ५ हजार ५३२ वटा अन्तर्राष्ट्रिय प्रतिबन्धहरु लगाइएका छन्। गत फेब्रुअरी २२ अगाडि नै रुसमाथि २ हजार ७५४ वटा प्रतिबन्ध लगाइएका थिए। तर युक्रेनमा आक्रमणपछि रुसमाथि थप २ हजार ७७८ वटा प्रतिबन्ध लगाइएको उक्त साइटले जनाएको छ। 

यसअघि सर्वाधिक अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्ने देशहरुको सूचीको शीर्ष स्थानमा इरान थियो। इरानविरुद्ध ३ हजार ५१६ वटा प्रतिबन्ध लगाइएका छन्। 

पछिल्लो घटनापछि सर्वाधिक अन्तर्राष्ट्रिय प्रतिबन्ध खेप्ने रुसले इरानलाई पनि उछिनेको छ। रुसमाथि संयुक्त राज्य अमेरिकाले सर्वाधिक २१ प्रतिशत तथा बेलायत र युरोपियन युनियनले संयुक्त रुपमा १८ प्रतिशत लगाएका छन्।

युक्रेनमा आक्रमण रोक्न दबाब दिन विश्वभरिबाट रुसविरुद्ध प्रतिबन्ध लगाउने क्रम जारी छ।

सर्वाधिक प्रतिबन्ध खेप्ने तेस्रो देशमा सिरिया छ। यो देशमाथि २ हजार ६०८ वटा प्रतिबन्धहरु लगाइएका छन्। 

त्यस्तै उत्तर कोरिया २ हजार ७७ वटा प्रतिबन्धहरु खेप्दै चौथो स्थानमा र भेनेजुएला ६५१ वटा प्रतिबन्धहरुका साथ पाँचौँ स्थानमा छन्। – एजेन्सी